नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएको आरोपमा प्रमुख अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौं : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर सरकारी सेवामा बढुवा तथा लाभ लिएको अभियोगमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
उनले सेवामा रहँदा बढुवा तथा पदस्थापनको प्रयोजनका लागि भारतको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने प्रवीणता प्रमाणपत्र तह (आईए) का नक्कली शैक्षिक कागजात पेस गरेको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनले लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र (प्रोभिजनल), कलेज छोडेको पत्र (कलेज लिभिङ), चारित्रिक तथा माइग्रेसन (स्थानान्तरण) प्रमाणपत्रलगायत नक्कली शैक्षिक कागजात प्रयोग गरेको आरोप छ। तीनकै आधारमा चौधरी राजपत्राङ्कित द्वितीय श्रेणी (प्रमुख अनुसन्धान अधिकृत) पदसम्म बढुवा भएको अख्तियारले जनाएको छ।
चौधरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफाको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको छ।
मंसिर ३, २०८३ बिहीबार १७:०८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।