लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको बस शिवखोलानजिक दुर्घटना, २२ जना घाइते

लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको बस शिवखोलानजिक दुर्घटना, २२ जना घाइते

काठमाडौं : लुम्बिनी भ्रमण गरेर बुटवलबाट कोहलपुर फर्कँदै गरेको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको शिवखोलानजिक दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। 

बिहीबार बिहान करिब साढे आठ बजे दाङको लमही नगरपालिका- ९ शिवखोलानजिक भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। 

उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको छ। चालक र सहचालकसहित ५३ जना सवार रहेको उक्त बसका अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनामा घाइते हुनेहरूमा बाँकेको बैजनाथ गाउँपालिकाका पूर्णिमा थापा र अनिषा सुनार रहेका छन्। त्यस्तै बर्दियाको बाँसगढी नगरपालिकाका जीवन सुनार, सन्दीप सुनार, सन्ध्या सुनार, निरुता सुनार, प्रज्ञा सुनार, आकृति सुनार, हरिकृष्ण नेपाली, मनिषा सुनार र पूजा सुनार घाइते भएका छन्।

सोही स्थान बस्ने दीपक सुनारकी १३ वर्षीया छोरी गुञ्जन सुनार, पुष्पा सुनार, करण सुनार, अर्जुन सुनार, आदित्य थापा, विश्वास सुनार, प्रिया सुनार, वसन्त विक, विश्वास सुनार, हिमाल सुनार र आकृति विक पनि दुर्घटनामा घाइते भएका छन्।

मंसिर ३, २०८३ बिहीबार १५:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।