बाजुरामा ३३७ मेट्रिकटन स्याउ उत्पादन, तर सडक र शीतभण्डारको अभावमा आधाजसो बारीमै कुहिने चिन्ता

बाजुरामा ३३७ मेट्रिकटन स्याउ उत्पादन, तर सडक र शीतभण्डारको अभावमा आधाजसो बारीमै कुहिने चिन्ता

बाजुरा : हिमाली तथा उच्च पहाडी हावापानीका कारण स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय स्याउको उत्पादन क्षेत्र र परिमाण दुवैमा वृद्धि भएको छ। यद्यपि, सहज सडक सञ्जाल, ढुवानी अनुदान र शीतभण्डार (चिस्यान केन्द्र) को अभावमा किसानले उत्पादित स्याउले उचित बजार र मूल्य पाउन सकेका छैनन्।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष जिल्लामा कुल ३३७ मेट्रिकटन (३ हजार ३७० क्विन्टल) स्याउ उत्पादन भएको छ, जुन विगतका वर्षहरूको तुलनामा बढी हो। जिल्लाभर ४२५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको भए पनि हाल २१० हेक्टर क्षेत्रफलका बोटले मात्र फल दिन थालेका छन्।

“यहाँ मुख्य गरी चार स्थानीय तहमा स्याउ खेती गरिन्छ”, न्यौपानेले भने, “यस वर्ष सबैभन्दा बढी स्वामीकार्तिक खापर १२५, जगन्नाथ ९७, हिमाली गाउँपलिकामा ३७ र बुढीनन्दा नगरपालिकामा ७८ गरी कुल ३३७ मेट्रिकटन स्याउ फलेको हो।”

उनले कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको बताए।

जिल्लाभित्र र बाहिर गरी एक करोड ७१ लाख ३७ हजार बराबरको स्याउ बिक्री भएको केन्द्रका सूचना अधिकारी न्यौपानेले जानकारी दिए। यहाँ गत वर्ष एक करोड ५० लाख बराबरको स्याउ बिक्री भएको थियो।

चार पालिकासहित खप्तड छेडेदह, गौमुललागयतका क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको कार्यालयले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले गत वर्षको तुलनामा क्षेत्रफल विस्तार भएसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री  हुन नसकेको बताए।

“वर्षातमा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म ढिलो गरी सञ्चालन हुँदा बजारीकरणका लागि ढुवानीमा समस्या भयो”, प्रमुख विष्टले भने, “दशैंमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी र धनगढी, नेपालगञ्जसम्म यहाँको स्याउ बिक्री भएको हो।”

यस्तै हरेक वर्ष स्याउ ढुवानीका लागि कार्यालयबाट अनुदान दिने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको बजेट नआउँदा किसानले आफैँ ढुवानी गरेर बिक्री गर्नु पर्ने अवस्था भएकाले पनि समस्या भएको उनले बताए।

यहाँ स्याउ उत्पादनमा वृद्धि हुँदै गए पनि किसानले उत्पादन अनुसारको बजार र मूल्य पाउन भने अझै चुनौती झेलिरहेका छन्। 

विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुँदा पाकेको स्याउ समयमै बजार पुर्याउन नसक्दा बारीमै कुहिने गरेको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतले गुनासो गरे।

त्यस्तै, सडक सञ्चालन भएपछि पनि लामो दूरी, महँगो ढुवानी खर्च र सडकको असहजताका बाबजुद धनगढी, नेपालगञ्जसम्म पुर्याउँदा पनि किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। विशेषगरी जिल्ला अन्य सिजनका लागि स्याउ भण्डार गर्ने चिस्यान केन्द्र नहुँदा धेरैजसो स्याउ बिक्री गर्न नसकिने किसान बताउँछन्।

यहाँका किसानलाई स्याउखेतीमा व्यवसायिक बनाउँदै क्षेत्रफल विस्तार र उत्पादन वृद्धिका लागि स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। किसानलाई स्याउका बिरुवा वितरण, लगानीअनुसार आम्दानी, प्राविधिक परामर्श, खेती व्यवस्थापनसम्बन्धी जानकारी तथा उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने कार्यक्रमले व्यावसायिक खेतीमा आकर्षण बढाएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

सडक स्तरोन्नतिसँगै सहज यातायात, नियमित ढुवानी सेवा, शीतभण्डार निर्माण, बजार व्यवस्थापन र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन सके बाजुराको स्याउ खेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ छ।

मंसिर ३, २०८३ बिहीबार १५:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।