२०१८ को स्यान्डपेपर काण्डमा ब्यान्क्रफ्ट र ख्वाजाको दाबीपछि कप्तान कमिन्स दबाबमा

२०१८ को स्यान्डपेपर काण्डमा ब्यान्क्रफ्ट र ख्वाजाको दाबीपछि कप्तान कमिन्स दबाबमा

एजेन्सी : टेस्ट क्रिकेट इतिहासकै सबैभन्दा ठुलो विवादमध्ये एक मानिने सन् २०१८ को ‘स्यान्डपेपर काण्ड’ (बल टेम्परिङ) आठ वर्षपछि फेरि ब्युँतिएको छ।

दक्षिण अफ्रिकाको केपटाउनमा भएको उक्त घटनामा रङ्गेहात पक्राउ परेका ब्याटर क्यामरन ब्यान्क्रफ्ट र पूर्वब्याटर उस्मान ख्वाजाको पछिल्लो खुलासाले अस्ट्रेलियन क्रिकेटमा पुनः तरङ्ग ल्याएको छ।

यस घटनाले हालका टेस्ट कप्तान प्याट कमिन्स, तत्कालीन प्रशिक्षक ड्यारेन लेहम्यान र क्रिकेट अस्ट्रेलिया (सीए) माथि दबाब सिर्जना गरेको छ।

कसको के दाबी छ ?
क्यामरन ब्यान्क्रफ्टले बुधबार ‘द वेस्ट अस्ट्रेलियन’ पत्रिकामा चार हजारभन्दा बढी शब्दको विस्तृत लेख प्रकाशित गर्दै केपटाउनमा रहेका सबै खेलाडी र प्रशिक्षकलाई स्यान्डपेपरको योजनाबारे जानकारी रहेको दाबी गरेका छन्।

उनका अनुसार दोस्रो टेस्टमै स्यान्डपेपर प्रयोग भएको थियो, बलरहरूले बल स्विङ भए/नभएको प्रतिक्रिया दिन्थे र तत्कालीन प्रशिक्षक लेहम्यान तथा बलिङ प्रशिक्षक डेभिड साकर सुरुवाती छलफलमै सहभागी थिए।

कप्तान कमिन्सको पछिल्लो खण्डनले आफूलाई ‘रिसाएको, धोका पाएको र एक्लो’ महसुस गराएको उनले बताएका छन्।

यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका उस्मान ख्वाजाले आफ्नो आत्मकथामा “ब्याटर, बलर वा स्टाफ मात्र होइन, हामी सबै संलग्न थियौँ” भन्दै टिमका सबैलाई घटनाबारे थाहा भएको खुलासा गरेका थिए।

तत्कालीन उपकप्तान डेभिड वार्नरले ख्वाजाको भनाइ ‘शतप्रतिशत सत्य’ रहेको बताउँदै सन् २०१८ मा सीएले बलरहरू जस हेजलउड, मिचल स्टार्क र नेथन लायनसँग सोधपुछ नै नगरी घटना ढाकछोप गरेको आरोप लगाएका छन्।

यस्तै, पूर्वबलर च्याड सेयर्सले दोस्रो टेस्टमा आफूले मैदानबाट स्यान्डपेपर हटाएको दाबी गरेका छन् भने जोन हल्यान्डले घटनापछि कसले दोष लिने भनेर होटेलमा टिम बैठक बसेको पुष्टि गरेका छन्।

गत हप्ता सिड्नीमा ६८ मिनेट लामो पत्रकार सम्मेलन गर्दै कप्तान प्याट कमिन्सले ख्वाजाको दाबीलाई ‘शतप्रतिशत गलत’ र ‘पूर्ण बकवास’ भन्दै कडा खण्डन गरेका छन्।

मिचेल स्टार्कले पनि आफू सन् २०२१ कै अडानमा कायम रहेको बताएका छन् भने जोस हेजलउड र नाथन लायन यसपटक मौन छन्। सन् २०२१ मा यी चारै बलरले संयुक्त विज्ञप्ति निकाल्दै घटना स्क्रिनमा देखेपछि मात्र थाहा पाएको बताएका थिए।

तत्कालीन मुख्य प्रशिक्षक लेहम्यानले आफूसँग लुकाउनुपर्ने केही नरहेको बताउँदै ब्यान्क्रफ्टको आरोप अध्ययन गर्न समय लाग्ने प्रतिक्रिया दिएका छन्। कोचिङ स्टाफमा रहेका ग्रेम हिकले भने ख्वाजाको आरोप ‘पूर्णतः झुटो’ भएको दाबी गरेका छन्।

तत्कालीन कप्तान स्टिभ स्मिथ, मिचेल मार्स र पिटर ह्यान्ड्सकम्बले पछिल्लो विवादमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। तत्कालीन विकेटकिपर टिम पेनले भने आफ्नो आत्मकथामै ‘सबैलाई थाहा थियो’ भन्ने कुरा ‘बकवास’ भएको लेखेका थिए।

एकतर्फ ख्वाजा, ब्यान्क्रफ्ट र वार्नरको सामूहिक दाबी र अर्कोतर्फ कमिन्ससहितका बलरहरूको लगातारको इन्कारीले आठ वर्ष पुरानो ‘स्यान्डपेपरगेट’ विवाद अझै सेलाउने सङ्केत देखिएको छैन।

मंसिर ३, २०८३ बिहीबार ०८:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।