याङ्गोको सुरक्षा रणनीतिमा नयाँ नेतृत्व, दुर्घटनाको जोखिम घटाउने लक्ष्य
काठमाडौं : प्रविधि कम्पनी याङ्गो ग्रुपले बजारमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन मोबिलिटी सेवाका लागि रोमन जेम्ल्यान्स्कीलाई ‘ग्लोबल हेड अफ सेफ्टी’ नियुक्त गरेको छ।
दुबईमा मुख्यालय रहेको याङ्गोले जोखिम तथा दुर्घटना रोकथामका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार, रुट निगरानी प्रणाली र पहिचान प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउन जेम्ल्यान्स्कीलाई उक्त जिम्मेवारी दिएको जनाएको हो।
विगत पाँच वर्षदेखि राइड-हेलिङ्ग सेवाको सुरक्षा प्रविधिमा काम गरिरका उनले अब सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र उत्कृष्ट बजार अभ्यासहरूको विस्तारमा नेतृत्व गर्नेछन्।
याङ्गो ग्रुपका सीईओ तथा सीबीओ याङ्गो राइडटेकका एडेनीयी एडेबायोले जेम्ल्यान्स्कीको नियुक्तिले सेवाग्राही र साझेदारको विश्वास जित्दै व्यवसाय विकास योजनामा सुरक्षालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। जेम्ल्यान्स्कीले पनि प्रविधिको प्रयोगबाट सम्भावित जोखिमको पूर्वपहिचान, सुरक्षा प्रक्रिया सुदृढीकरण र स्थानीय निकायहरूसँगको सहकार्यमा जोड दिए।
गत सेप्टेम्बरमा सार्वजनिक ‘याङ्गो राइड सुरक्षा प्रतिवेदन’ अनुसार विश्वभर प्रति १० लाख यात्रामा गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेर ९.८३ बाट ६.७६ मा झरेको याङ्गोले जनाएको छ।
हाल ३५ भन्दा बढी देशमा सेवा सञ्चालन गरिरहेको याङ्गोले स्थानीय निकाय तथा सडक सुरक्षा संस्थाहरूसँगको सहकार्यमा नेपालसहित विभिन्न देशका मोटरसाइकल चालक र कुरियरहरूलाई हेल्मेट तथा सुरक्षात्मक सामग्री वितरणलगायतका सेवा सञ्चालन गरिरहेको छ।
मंसिर ३, २०८३ बिहीबार १५:४५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।