‘सुतेरै कुरा गरौँ न है!’
काठमाडौं : दुई वर्षअघि घरेलु बक्स अफिसमा ४८ करोडमाथिको व्यापार गर्दै सर्वकालीन कीर्तिमान रचेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’कै टिमले बुधबार नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गर्यो।
सरोज पौडेलको निर्देशन तथा सोही ब्लकबस्टर फिल्मका मुख्य जोडी विजय बराल र अञ्जना बराइलीको पुनरागमन रहेको ‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम, खुसी, धोका र पीडा देख्न सकिन्छ।
टिजरको सुरुवाती दृश्यमा विजय र अञ्जनाबिचको गहिरो प्रेम, विवाह र दाम्पत्य जीवनको खुसीलाई निकै मिठासपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ। विवाहको पहिलो रात विजले अञ्जनालाई भन्छन्- ‘सुतेरै कुरा गरौँ न है.... अलि थाकेको होलाउ भनेर!’
तर, कथामा विनोद न्यौपानेको प्रवेशसँगै यो प्रेमिल संसार धर्मराएको भाव टिजरमा दिन खोजिएको छ। तीन मुख्य पात्रको वरिपरि घुमेको टिजरले विनोदले निम्त्याएको द्वन्द्व, वियोगमा छटपटिएका विजय र धोकाको पीडामा डुबेकी अञ्जनाको भावुक अवस्था देखाएको छ।
फिल्मको मूल कथा र रहस्यका पाटाहरू त आगामी दिनमा आउने ट्रेलर र प्रदर्शनपछि नै खुल्दै जानेछन्।
तर, नेपाली बक्स अफिसमा इतिहास रचेको निर्देशक र कलाकारको यही सफल सहकार्यले आउँदो मङ्सिर १८ गते प्रदर्शनमा आउँदा अघिल्लो फिल्मकै हाराहारीको व्यापारिक सफलता चुम्ला कि नचुम्ला भन्ने चासो चुलिएको छ।
फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतका कलाकारको सशक्त अभिनय रहनेछ।
निर्देशक पौडेलकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन् भने सह-निर्मातामा राकेश खड्का र श्याम मगर रहेका छन्। यस्तै, एसोसिएट निर्माता सुमन रञ्जित, लाइन निर्माता अनिश अधिकारी र कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्।
पदमबहादुर श्रेष्ठ (बाबु) को टोलीले छायाङ्कन गरेको ‘सिन्दुरे जात्रा’लाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।
विशाल घिमिरे क्रिएटिभ निर्देशक रहेको फिल्मका गीतमा प्रशान्त सिवाकोटीको सङ्गीत सुन्न सकिनेछ। नेसनल सिने ग्रुप नेपालले वितरण गर्ने यो फिल्मको डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल जोडिएको छ।
मंसिर ३, २०८३ बिहीबार १०:३१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।