बक्स अफिसमा दयाहाङका दुई फिल्मको व्यापार १० करोड, ‘पाँच पाण्डव’सहित दीपक र विराजका फिल्म फ्लप

बक्स अफिसमा दयाहाङका दुई फिल्मको व्यापार १० करोड, ‘पाँच पाण्डव’सहित दीपक र विराजका फिल्म फ्लप

काठमाडौं : बक्स अफिसमा अभिनेता दयाहाङ राई अभिनीत दुवै फिल्मले १० करोडमाथिको व्यापार गर्दै बक्स अफिसमा दबदबा जमाउँदा हरिवंश आचार्य, दीपकराज गिरी र विराज भट्टजस्ता चर्चित नाम जोडिएका फिल्महरू भने नराम्ररी पछारिएका छन्।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टिकटकबाट चर्चामा आएकी इभा गिरी र वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्म ‘पाँच पाण्डव’ बक्स अफिसमा फ्लप सूचीमा परेको छ।

बोर्डको तथ्याङ्कअनुसार कात्तिक २० गतेबाट प्रदर्शनमा आएको यस फिल्मलाई जम्मा १२ हजार २९४ दर्शकले मात्र हेरेका छन्। यसबाट फिल्मले ४३ लाख ५० हजार ४९३ रुपैयाँ मात्र कलेक्सन गरेको छ।

वसन्त निरौलाको निर्देशन तथा रङ्ग पत्रकार सुशील पौडेलको लेखन रहेको ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्।

निर्माण चरणदेखि नै विवाद र झमेलामा फसेको यो फिल्मलाई रिलिजको समयमा सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतले थप नकारात्मक चर्चा निम्त्याउँदा बक्स अफिसमा नमज्जाले धक्का लागेको हो।

बक्स अफिसमा दयाहाङको एकछत्र राज
यता, अभिनेता दयाहाङ राई र विजय बरालको जोडी दोहोरिएका दुई फिल्मले भने बक्स अफिसमा सानदार छलाङ मारेका छन्।

दयाहाङको मुख्य भूमिका रहेको ‘कबड्डी ५’ ले हालसम्म ४ लाख २२ हजार ८९० दर्शकलाई हलमा तानेर १२ करोड ९४ लाख १५ हजार रुपैयाँ कलेक्सन गर्न सफल भएको छ।

कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको यो फिल्म पछिल्लो समयको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङका अलावा विजय बराल, मिरुना मगर, बुद्धि तामाङलगायतको अभिनय छ। हलमा अझै पनि दर्शकको साथ पाइरहेको ‘कबड्डी ५’ ले चाँडै १३ करोडको आँकडा पार गर्ने देखिएको छ।

त्यस्तै, दयाहाङकै मुख्य अभिनय रहेको अर्को फिल्म ‘पेन्सनपट्टा’ ले पनि १० करोडमाथिको व्यापार गरेको छ।

सोमबारसम्मको बक्स अफिस रिपोर्टअनुसार माओत्से गुरुङ निर्देशित यस फिल्मले ३ लाख ६४ हजार दर्शकको साथ पाउँदै १० करोड ३५ लाख ७८ हजार रुपैयाँ कमाइ गरेको छ। फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विजय बराल, पशुपति राईलगायतको अभिनय छ।

‘आ बाट आमा २’ लाई अघिल्लो साख जोगाउन सकस
अभिनेत्री विपना थापाको मुख्य भूमिका रहेको ‘आ बाट आमा २’ ले भने अघिल्लो शृङ्खलाको जस्तो जादु चलाउन सकेन।

अघिल्लो भाग ‘आ बाट आमा’ ले १३ करोडमाथिको व्यापार गरे पनि यसको सिक्वेल ६ करोड ९१ लाख ६७ हजार रुपैयाँ कलेक्सनमा सीमित भएको छ।

बोर्डको टिकट बिक्री विवरणअनुसार अघिल्लो पार्टको तुलनामा दर्शक घटेर यसलाई हेर्नेको संख्या २ लाख ४१ हजार ९६ मा झरेको छ। चन्द्र पन्तको निर्माण तथा निर्देशनमा करिब दुई करोड आसपासको लागतमा बनेकाले फिल्मले लगानी भने उठाएको छ।

फिल्ममा विपनासँगै पल शाह, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत र साइग्रेस पोखरेलको मुख्य भूमिका छ।

विराज र दीपकलाई फ्लपको धक्का, सुध्रन दर्शकको सुझाव
दुई वर्षअघि २० करोडको व्यापार गर्दै ब्लकबस्टर बनेको ‘१२ गाउँ’ को सफलता देखेर सिक्वेल बनाएका निर्देशक तथा अभिनेता विराज भट्ट यसपटक नराम्ररी डुबेका छन्।

असोज ३० गतेबाट प्रदर्शनमा आएको ‘१२ गाउँ २’ एक सातामै अधिकांश हलबाट उत्रिएको थियो। करिब एक महिनाको अवधिमा यसलाई ७६ हजार ६० दर्शकले मात्र हेरेका छन्, जसबाट फिल्मले जम्मा २ करोड ३२ लाख ९६ हजार रुपैयाँ मात्र कलेक्सन गरेको छ।

छोरा समिर भट्टलाई लिएर निर्माण गरिएको यो फिल्म असफल हुँदा विराजलाई निकै नमिठो धक्का लागेको छ।

यससँगै दर्शकले विराजलाई फिल्ममा एक्सन र फाइट मात्र नभई कथा तथा पटकथामा पनि मेहनत गर्न सुझाव दिएका छन्। यही फिल्मबाट डेब्यु गरेका दुई नवनायिका कृशु शाही (काफिया) र सुरक्षा इटानीको पहिलो फिल्म नै फ्लप साबित भएको छ।

उता, असोज ३१ गतेबाट रिलिज भएको दीपेन्द्र लामा निर्देशित ‘६ माया छपक्कै २’ को व्यापार ‘१२ गाउँ २’ को तुलनामा केही बढी देखिए पनि अपेक्षित सफल हुन सकेन।

१ लाख ६ हजार ८८३ टिकट बिक्री भएको यो फिल्मले आइतबारसम्म ३ करोड ४३ लाख १७ हजार रुपैयाँ मात्र कमाएको छ, जबकि यसको पहिलो भागले ९ करोडमाथिको व्यापार गरेको थियो। युवा निर्माता रोहित अधिकारीको निर्माण रहेको यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, सनिशा भट्टराई, केकी अधिकारीलगायतको अभिनय छ।

‘बाटुलो जुन’को पाँच करोड कटेको निर्माण पक्षको दाबी
कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको ‘बाटुलो जुन’ को आधिकारिक बक्स अफिस रिपोर्ट भने सार्वजनिक भइसकेको छैन। प्रदर्शनको एक साता पूरा नभएकाले आगामी सोमबार बोर्डको रिपोर्ट आएपछि मात्र यसको वास्तविक व्यापार खुल्नेछ।

तर, निर्माण पक्षले भने फिल्मले सुरुवाती दुई दिनमै ५ करोडमाथिको व्यापार गरेको दाबी गर्दै आएको छ। भुवन केसीको निर्देशन र जिया केसीको निर्माण रहेको यस फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा र न्यान्सी खड्कालगायतको अभिनय छ।

कात्तिक ३०, २०८३ सोमबार १३:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।