बाटुलो जून : चम्किलो प्राविधिक कभरमा फिक्का प्रेम कथा
सामाजिक सञ्जालको आक्रामक प्रचार, डिजिटल प्लेटफर्मको हाइप र ओपनिङ कलेक्सनको दाबी सुन्दा लाग्छ फिल्म ‘बाटुलो जून’ ले नेपाली बक्स अफिसमा ऐतिहासिक आँधी नै ल्याएको छ। तर, जब हलमा फिल्म हेर्न बसिन्छ अनि त्यो बाहिरी हल्ला र यथार्थमा ठुलै अन्तर भेटिन्छ। फिल्ममा केही उज्याला पाटा नभएका हैनन्, तर यसका कमजोरीहरूले ती उज्यालोमा जुनमा ग्रहण लागे समान धमिलो बनाइदिएको अनुभव हुन्छ।
फिल्मको कथा त्यस्तै ३०-४० वर्ष अगाडिको ग्रामीण भेगको वियोगात्मक प्रेम कथामा बुनिएको छ। एक युवा शिक्षाको उज्यालो झर्न गाउँ आउँछन्। त्यहाँ उमेर पुगे पनि अशिक्षितको समूह भेट्छन्। अनि उनी उनीहरूलाई शिक्षित बनाउने अभियानमा लाग्छन्।
त्यही समूहकी एक युवतीसँग उनको मन साटिन्छ। तर केही घटनाक्रमले साटिएको मन भाँचिन्छ। त्यसपछि के हुन्छ? अधिकांश प्रेमकथामा आधारित फिल्महरूमा जे हुन्छ त्यही हुन्छ।
यति लेख्दा लौ कथै पो लेखिदिए भन्ने लाग्न सक्छ। तर फिल्मको यो भन्दा बढी कथा त ट्रेलरमै समेटिएकाले यति लेख्दा फिल्म मेकरलाई अन्याय हुन्न। फिल्मभित्रका केही ट्विस्ट गोप्य नै राखेका छौँ।
कथा र टाइमफ्रेमको चुक
फिल्मको सेटअप र गेटअपले यो ३०-४० वर्ष अगाडिको ग्रामीण परिवेशको कथा हो भन्ने प्रस्ट देखिन्छ। तर, कथा लेखनमा निर्देशक र लेखकले गरेका लापरबाहीले फिल्मको टाइमिङको विश्वसनीयता कमजोर बनाएको छ।
जस्तो, फिल्मको एक दृश्यमा 'काजी' बनेका अनमोल केसीले चोरीको प्रसङ्गमा "मुलुकी अपराध संहिताको दफा २४१ अनुसार अर्काको सम्पत्ति चोर्नेलाई २ वर्ष कैद वा ५० हजार जरिवाना हुन्छ" भन्दै कानुनको धारा सुनाइरहेका हुन्छन्।
जब कि ३०-४० वर्ष अगाडि नेपालमा 'मुलुकी अपराध संहिता' होइन, 'मुलुकी ऐन' प्रचलनमा थियो। संहिता आएको त २०७४ मा हो। फिल्ममा यस्ता बिझ्ने साना-ठूला गल्तीहरू अरू पनि भेटिन्छन्।
पटकथा र स्क्रिनप्ले
प्रेम कथा पूरै पुरानै ढर्राको क्लिसे छ, कथामा वाह क्या गजव सोचेछन् भन्ने ठाउँ भेटिन्न। कुनै नौलो सरप्राइज वा गजवको ट्विस्ट कमै छन्। जुन उमेर समूहको प्रेम कथा भनिएको छ उनीहरू कमैले आफ्नो समयको प्रेमको अनुभव गरेर नोस्टाल्जिक हुन सक्छन्।
अर्को समस्या युवाकालको प्रेम होस् या बुढेसकालको भेट, फिल्मको कथा कता जाँदैछ भन्ने दर्शकले सहजै अनुमान गर्न सक्छन्, अब के होला भनेर त्यति धेरै दिमाग खियाउनु पर्दैन।
पहिलो हाफको स्क्रिनप्ले 'सुस्त' मात्र होइन, 'अति सुस्त' छ। अनावश्यक दृश्यहरूलाई पनि डिटेलमा देखाउने धुनमा निर्देशक चुकेका छन्। पात्र र परिवेश सेटअपमा निर्देशक पुरै अलमलिएको अनुभव हुन्छ। जसले गर्दा पहिलो हाफ नसकिँदै हलमा छटपटी महसुस हुन थाल्छ। दोस्रो हाफमा फिल्मले केही गति लिन्छ।
निर्देशकले फिल्मको भिजुअल र नोस्टाल्जिया बनाउन जति मेहनत गरेका छन्, कथालाई बलियो र तार्किक बनाउने ठाउँमा त्यति नै चुकेका छन्। अनावश्यक दृश्यहरूको भरमार र गीतहरूको अतिशय प्रयोगले कथाको प्रवाहलाई पटक-पटक तोडिदिन्छ।
गीतहरू सुन्न र हेर्न मीठा भए पनि, कथा बगिरहेको बेलामा बीच-बीचमा आइपुग्दा दर्शकको मुख्य कथासँगको 'कनेक्सन' नै टुट्न पुग्छ। दर्शक हँसाउने उद्देश्यले राखिएका कलाकार रेयर राईको जोकहरूले दर्शक हँसाउन सकेका छैनन्। बरु यसमा जुन बनेकी प्रिन्सी सफल छिन्।
अभिमान बनेका अनमोलले आफ्नो नियमित 'लभर ब्वाई' इमेजबाट बाहिर निस्किएर शान्त स्वभावको पात्रमा अभिनय गर्ने कोसिस गरेका छन्। फरक लुक्स र डायलग डेलिभरीको प्याट्रन बदल्ने उनको प्रयास सराहनीय छ, जसले उनलाई 'हिरो'बाट 'अभिनेता' बन्ने यात्रामा रहेको आभास गराउँछ।
तर, गम्भीर दृश्यहरूमा उनको 'बडी ल्याङ्ग्वेज' र संवाद अझै पनि पुरानै शैलीको देखिन्छ। इमोसनल दृश्यहरूमा पनि उनको संवाद शैली फ्ल्याट सुनिन्छ अनि अनुहारको भाव संवादसँग मेल खाँदैन। हिरोबाट अभिनेता बन्न उनले मेहनत गर्नुपर्ने ठाउँ टन्नै देखिन्छ।
जुन बनेकी प्रिन्सी खतिवडाको अभिनय भने दर्शकका लागि सरप्राइज हुन सक्छ। टिकटकबाट सार्वजनिक छवि बनाएर अभिनयमा आएकी प्रिन्सीले डेब्युमा अब्बल काम गरेकी छिन्। चुलबुले क्यारेक्टरमा देखिएकी उनले गम्भीर दृश्यहरूमा समेत स्वाभाविक अभिनय गरेकी छिन्। वियोगात्मक दृष्यको संवाद र भावभंगीमा उनको अगाडि अनमोल नै फिक्का देखिएका छन्।
यद्यपि, केही दृश्यमा उनको स्वरले क्यारेक्टरको स्वभावलाई साथ दिन नसकेको अनुभव हुन्छ। अनमोल र प्रिन्सीको अनस्क्रिन केमेस्ट्री पनि जमेको छ।
लामो ग्यापपछि पर्दामा फर्किएकी गरिमा पन्तको अभिनय सन्तुलित छ। भुवन केसीले पनि आफ्नो क्यारेक्टरलाई सुहाउँदो न्याय दिएका छन्। न्यान्सी खड्काले जति फ्रेम पाएकी छिन् राम्रो प्रयास गरेकी छिन्। अन्य कलाकारको अभिनय ठिकठिकै।
सिनेम्याटोग्राफी र कस्ट्युम
फिल्मको सबैभन्दा शक्तिशाली पक्ष यसको प्राविधिक पाटो हो। पिरियड ड्रामा भएकाले त्यतिबेलाको भेषभूषा, घरका संरचना र जीवनशैलीलाई पर्दामा उतार्न निर्माण टिमले निकै मिहिनेत गरेको देखिन्छ।
क्यामेरा सटहरू, कलर ग्रेडिङ र केही सांकेतिक दृश्यको प्रयोग बलियो छ। उदाहरणका लागि जुनको घरमा केटी माग्न आएको खवर पाएर दौडिएकी जुनको हातको डालो खसेको, उनले बाटोको बुख्याचासँग गरेको संवाद र उनको अनुहारको भाव, काजीका लागि केटी माग्न जाँदा कोठामा युवतीको प्रवेश गराएको लगायतका दृष्य कलात्मक छन्।
३०-४० वर्ष अगाडिको कालखण्डलाई पर्दामा उतार्न कस्ट्युम र सेट डिजाइनमा गरिएको मिहिनेत प्रस्ट झल्किन्छ। बिजिएम र कलरग्रेडिङ बलियो छ। तर क्यामरा वर्कमा जति मिहेनत देखिन्छ सम्पादनमा भने त्यो त्यति नै कमजोर लाग्छ। साढे दुई घण्टाको फिल्म छोट्टाएर फिल्म कसिलो बनाउन पर्याप्त ठाउँ हुँदाहुँदै पनि दृश्य सम्पादकले कुँडाकर्कटको लोभ गरेको अनुभव हुन्छ। जस्तो बोक्सीको समस्या देखाउन खर्चिएको दृष्यको फिल्मको मुल कथासँग के सम्बन्ध छ? जवर्जस्ती थोपरिएको द्धन्द्धको के काम?
अनि अन्तिममा वियोगको निर्माण गर्न पहिला जे स्वास्थ्य समस्या देखाइयो अनि अन्तिममा मृत्युको जे कारण देखाइयो त्यसमा दर्शक कन्भिन्स हुने ठाउँ छ र ! यस्ता कमजोरी फिल्मभरी कति हो कति।
अन्त्यमा, सामाजिक सञ्जालको वाहवाही र बक्स अफिसको दाबी जस्तो ‘बाटुलो जून’ पर्दामा त्यस्तो बबाल अनि बलियो प्रेम कथाको फिल्म बनेको छैन। फिल्मको सिनेम्याटोग्राफी र कलरिङ जति बलियो छ, कथा र पटकथा त्यति नै कमजोर छ।
फस्ट हाफको बोरिङ र अति स्लो स्क्रिनप्ले छिचोल्दै दोस्रो हाफसम्म हलमा टिक्नु नै दर्शकका लागि मुख्य सफलता मान्नुपर्छ। यदि प्राविधिक सुन्दरता, राम्रो सिनेम्याटोग्राफी र अनमोलको फरक प्रयास हेर्ने हो भने एकपटक फिल्म हेर्न सकिन्छ, तर बलियो र कसिलो कथाको अपेक्षा गर्दै हल जाने हो भने निराश बनाउँछ।
कात्तिक २८, २०८३ शनिबार १२:३६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।