उपासना हलमा दर्शक भेट्न आतुर, भन्छिन्- ‘म त हलमा जानका लागि एकदमै एक्साइटेड छु’
काठमाडौं : फिल्मको प्रचारप्रसार अब पोस्टर, ट्रेलर र अन्तर्वार्ताबाट निस्किएर सिधै सिनेमा हलको लबीमा सरेको छ। फिल्म प्रदर्शनमा आउँदा विशेष समारोह वा सीमित सञ्चारमाध्यममा मात्र भेटिने कलाकारहरू हिजोआज स्वयं हल-हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका हुन्छन्।
विगतमा स्टार कलाकारहरू आफ्नो फिल्म हलमा लाग्दा कि त अर्को सुटिङमा व्यस्त हुन्थे, कि कुन हलमा कति दर्शक आए र कसको काम रुचाए भन्ने चासोमै सीमित रहन्थे। उनीहरू प्रायः विशेष कार्यक्रममा मात्रै सार्वजनिक हुन्थे, नत्र घरमै थन्किन्थे। त्यतिबेला धेरैलाई ‘धेरै बाहिर निस्किए स्टारडम घट्छ’ भन्ने मनोविज्ञानले डोर्याउँथ्यो भन्दा फरक नपर्ला।
दर्शकको भीडमाझ पुगेर ‘फिल्म कस्तो लाग्यो ?’ भन्दै हल-हल चहार्नुपर्ने बाध्यता त्यतिबेला थिएन। तर, अहिले समय र ट्रेन्ड ठ्याक्कै फेरिएको छ। हलमा नपुगी नहुने अवस्था छ। त्यसको ताजा उदाहरण हुन्, अभिनेता तथा निर्माता विराज भट्ट।
नेपाली फिल्म वृत्तमा ‘बाघ’ उपनामले चर्चामा आएका विराज यसअघिको फिल्म ‘१२ गाउँ’ प्रदर्शन हुँदा घरमै बसेर कमाइको हिसाबकिताब गरिरहेका थिए। त्यतिबेला न उनले खासै मिडियामा अन्तर्वार्ता दिए, न प्रचारप्रसारमै दौडधुप गरे। तर, यस पटक भने उनलाई घरमै बसिरहने छुट मिलेन।
उनी छोरा समीरलाई साथमा लिएर हल-हल चहार्दै दर्शकसँग ‘फिल्म कस्तो लाग्यो ?’ भनेर प्रतिक्रिया माग्ने अवस्थामा आइपुगे। त्यस्तै कतिपय युट्युब मिडियामा ‘मेगास्टार’का रूपमा चर्चा गरिने अभिनेता अनमोल केसी पनि यतिबेला बुबा भुवन केसी र अभिनेत्री प्रिन्सी खतिवडालाई लिएर हल-हल कुदिरहेका छन्।
यता अभिनेत्री उपासना सिंह ठकुरी पनि आफ्नो फिल्मको प्रचारको लागि यतिबेला हल भिजिटको दौडमा छिन्। हलमा नगई फिल्म चल्न मुस्किल छ भन्ने बुझाई उनमा पनि देखिन्छ। यही मंसिर ४ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को प्रचारप्रसारका क्रममा उनले आफू दर्शकसँग भेट्न आतुर रहेको बताइन्।
हात्तीसारस्थित एक क्याफेमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले ‘फिल्म रिलिज हुने बित्तिकै कलाकारहरू हलमा जानु कत्तिको ठीक लाग्छ ?’ भनेर प्रश्न सोधेका थिए। जवाफमा पछिल्लो समय नाम चलेका कलाकारहरूको समेत हल दौडधुप देखेकी उपासनाले पनि घुमाउरो पारामा आफू दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन हलमा जाने संकेत दिइन्।
“मलाई हलमा गएर अडियन्ससँग इन्टर्याक्ट गर्न एकदमै मनपर्छ। किनभने हामीले एउटा फिल्म बनाइसकेपछि अडियन्सले हेरिदिँदा र उहाँहरूको रेस्पोन्स नै लाइभ हेर्न पाउँदा त्यो नै ब्युटिफुल कुरा हो जस्तो लाग्छ,” उपासना भन्छिन्, “म त हलमा जानका लागि एकदमै एक्साइटेड छु। दाइ (निर्देशक)को फिल्म नै आफ्नै होम प्रोडक्सनको जस्तो लाग्छ। दाइले हलमा नजाऔँ भन्दा पनि मलाई त ‘हैन, जानुपर्छ’ भन्ने फिल हुन्छ।”
सोमबार नै युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्मको सुटिङका समयमा अभिनेता परिवर्तन गरिएको थियो। सोनम तोप्देनको ठाउँमा धिरज मगर थिए। उनी यही टिमले निर्माण गरेको फिल्म ‘खुस्मामा थिए। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरसँग उपासनाको यो दोस्रो सहकार्य हो।
यस फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिका रहेको यस फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले गरेका छन्।
मंसिर १, २०८३ मंगलबार १५:२४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।