म्याग्दीमा प्रहरीको अपरेशन ब्राबोसेरा!
म्याग्दी : वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म १७२ थान अवैध भरुवा बन्दुक बरामद भएका छन्।
अभियानकै क्रममा बुधबार मालिका गाउँपालिका-५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक बरामद भएका छन्।
इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खोजतलासका क्रममा ती हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
यसअघि गत आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रबाट प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको थियो।
पछिल्ला दिनमा मालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रमा गरिएको खोजतलासबाट मात्रै १२ थान अवैध हतियार नियन्त्रणमा लिइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
म्याग्दी प्रहरीले विसं २०८२ मङ्सिर १५ गतेदेखि अवैध हातहतियार नियन्त्रण गर्न ‘ब्राबोसेरा’ अभियान सुरु गरेको हो।
ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सामुदायिक वनमा हुने चोरीसिकार रोक्नुका साथै अवैध हतियारबाट हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्नु अभियानको मुख्य लक्ष्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
प्रहरीले जिल्लाका छवटै स्थानीय तहका वनजङ्गल, खोल्साखोल्सी, रूखका टोड्का, मानिस नबस्ने पुराना घरगोठ तथा जमिनमुनि लुकाएर राखिएका अवस्थामा हतियार फेला पार्ने गरेको छ।
स्थानीयवासीको सूचना, जनप्रतिनिधिको समन्वय र प्रहरीको खोजतलासका आधारमा अधिकांश हतियार बरामद भएका हुन्। कारबाहीबाट बच्न कतिपय व्यक्तिहरू वनजङ्गलमै बन्दुक छाडेर भाग्ने गरेको समेत पाइएको प्रहरीको भनाइ छ।
समुदायको सहयोगका कारण अभियान सफल भइरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक तिमिल्सिनाले अवैध हतियारबारे सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने भएकाले त्यस्ता जानकारी उपलब्ध गराउन आग्रह गरे।
प्रचलित कानुनअनुसार प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाइने भए पनि इजाजतबिना हातहतियार राख्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। शान्तिसुरक्षा कायम राख्न अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
मंसिर ३, २०८३ बिहीबार ०९:१७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।