मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित ६ जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसुरमा दुई पूर्वमन्त्रीसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय रामेश्वर राय यादव, शेरबहादुर कुँवर रहेका छन्। त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
यादव २०७६ मंसिर ४ देखि २०७७ पुस ५ गतेसम्म केपी शर्मा ओली सरकारको पालामा मन्त्री भएका थिए भने कुँवर शेरबहादुर देउवाको मन्त्रीमण्डलमा २०७९ असार १३ देखी पुस ११ सम्म पदमा रहेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको छ।
अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानूनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी जम्मा एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ सङ्कलन गरिएको पाइएको छ।
सङ्गठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानूनी उपचार नगरी वा नगराई सो गैरकानूनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ पूर्जी लिई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।
यस सङ्गठित ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा थप कानूनी कारबाही तथा अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
मंसिर २, २०८३ बुधबार २१:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।