एनपीएलमा बुधबार बने चार कीर्तिमान! मिशाराको अविजित १२० रनमा काठमाडौं ध्वस्त, आज चितवन र सुदूरपश्चिम भिड्दै
काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को एलिमिनेटर खेल केवल नकआउट भिडन्तमात्रै थिएन, यो कीर्तिमानहरूको रात पनि बन्यो।
कामिल मिशाराको ऐतिहासिक शतक र रिजन ढकाल तथा उसामा मिरको धारिलो बलिङको मद्दतमा चितवन राइनोजले काठमाडौं गोर्खाजमाथि ६१ रनको सानदार जित हात पार्दै एनपीएल इतिहासमा पहिलोपटक क्वालिफायर-२ को यात्रा तय गर्यो।
बुधबारको खेलमा चितवनको कप्तानी सम्हालेका इङ्लिस अलराउन्डर रवि बोपाराले आफ्नो समग्र टी-२० करियरको ५००औं खेलमा ४२ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिएका चितवनका रिजन ढकाल जारी सिजनमा कुल १६ विकेटसहित ‘गोल्डेन क्याप’ दौडको शीर्ष स्थानमा उक्लिए।
यसका अलावा, अघिल्ला दुई सिजनमा एलिमिनेटरबाटै बाहिरिएका यी दुई टोलीमध्ये बुधबार चितवनले पहिलोपटक एलिमिनेटर जित्यो। लिग चरणमा तेस्रो भएको काठमाडौं भने लगातार अन्तिम तीन खेल हारेर दोस्रोपटक एलिमिनेटरमै रोकिन पुग्यो। चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार साँझ सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
बुधबारको एलिमिनेटरमा बनेका प्रमुख कीर्तिमानहरू
एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर : चितवनका श्रीलंकाली ब्याटर कामिल मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै अविजित १ सय २० रन बनाए। यो एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर हो।
उनले गत सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनीविरुद्ध बनाएको अविजित १ सय १४ रनको कीर्तिमान ६ रनले तोडेका हुन्।

प्लेअफ चरणको पहिलो शतक : मिशाराको शतक जारी तेस्रो सिजनको दोस्रो र एनपीएल इतिहासको पाँचौं शतक हो। यसअघिका चारै शतक लिग चरणमा बनेका थिए।
अर्थात्, एनपीएलको प्लेअफमा शतक प्रहार गर्ने मिशारा पहिलो ब्याटर बनेका छन्। एनपीएलका पाँचै शतक विदेशी खेलाडीको नाममा रहेका छन्।
प्लेअफ इतिहासकै पहिलो २००+ टिम स्कोर : चितवनले बनाएको २०४/४ को योगफल एनपीएलको प्लेअफ इतिहासकै सर्वाधिक र पहिलो २००+ टिम स्कोर हो।
समग्र एनपीएल इतिहासमा यो पाँचौं २००+ स्कोर तथा चितवन राइनोजको फ्रान्चाइज इतिहासकै सर्वाधिक योगफल हो।
तेस्रो विकेटका लागि १५४ रनको साझेदारी : २२ रनमा २ विकेट गुमिसकेको दबाबपूर्ण अवस्थाबाट मिशारा र कप्तान रवि बोपाराले ९२ बलमा १ सय ५४ रनको साझेदारी गरे।
यो एनपीएल प्लेअफ इतिहासको सर्वाधिक र समग्र एनपीएल इतिहासको तेस्रो ठूलो साझेदारी हो। यसअघि पोखराले १ सय ८६ र १ सय ७६ रनको साझेदारी गरेको छ।
०००
२७ रनमा छुटेको क्याचदेखि ६१ रनको जितसम्म
टस जितेर पहिला ब्याटिङ रोजेको चितवनको सुरुवात खराब रहेको थियो। चौथो ओभरमा काठमाडौँका कप्तान करण केसीले लगातार दुई बलमा देव खनाल र डेविड मलानलाई आउट गर्दै चितवनलाई २२/२ को सङ्कटमा पारेका थिए। पावरप्लेमा चितवन ३४/२ मा सीमित थियो।
मिशारा १७ बलमा २७ रन बनाएर खेलिरहँदा गणेश गौतमको बलमा विल बोसिस्टोले क्याच छाड्नु नै खेलको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ बन्यो। त्यसपछि जीवनदानको भरपूर फाइदा उठाएका मिशाराले ३३ बलमा अर्धशतक र ५३ बलमा शतक पूरा गरे।
बोपाराले ४२ बलमा ५३ रन जोडेर १८.३ ओभरमा रसिद खानको बलमा बोल्ड हुँदासम्म चितवन १७६/३ को बलियो स्थितिमा पुगिसकेको थियो। अन्तिम ५ ओभरमा ६४ रन बटुल्दै चितवनले २०४/४ को विशाल योगफल खडा गर्यो।

काठमाडौंका करण केसी र रसिद खानले २/२ विकेट लिए पनि अन्य बलर महँगा साबित भए।
२०५ रनको लक्ष्य पछ्याएको काठमाडौंको ब्याटिङ सुरुबाटै धर्मरायो। रिजन ढकालले ओपनरद्वय साहिल पटेल र साम हिजलेटलाई पावरप्लेभित्रै पभेलियन फर्काए।
मध्यक्रममा विल बोसिस्टो र सहन अराच्चिगेले केही प्रयास गरे पनि स्पिनर उसामा मिरले बोसिस्टो, अराच्चिगे र कप्तान करण केसीलाई आउट गर्दै काठमाडौंलाई संकटग्रस्त बनाए।
अन्तिमतिर भीम शार्कीले १७ बलमा ३ छक्कासहित अविजित ३० रन जोडे पनि काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमै रोकियो। रिजन र उसामासँगै कमलसिंह ऐरीले ४ ओभरमा मात्र १६ रन खर्चेर कसिलो बलिङ गरे।
खेलपछि के भने प्लेयर अफ द म्याच कामिल मिशाराले ?
बुधबारको खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्लेयर अफ द म्याच कामिल मिशारा आत्मविश्वासले भरिपूर्ण देखिए। उनले शतकदेखि बिहीबारको क्वालिफायर-२ र घाइते कप्तान सिकन्दर रजाको अवस्थाबारे समेत खुलेर बोले।
अघिल्ला खेलहरूमा सुरुवात पाए पनि ठूलो इनिङ्स खेल्न नसकेको बताउँदै बुधबार सुरुमै विकेट झरेपछि कप्तान बोपारासँग मिलेर क्रिजमा लामो समय टिक्ने योजना बनाएको उनले सुनाए।
९० रन कटेपछि शतकको दबाबबारे सोध्दा उनले भने, “मलाई शतकको कुनै चिन्ता थिएन। पिच राम्रो भएकाले टिमका लागि रन जोड्नु मेरो जिम्मेवारी थियो, त्यहीअनुसार खेलेँ।”
उनले यो कीर्तिमानी शतक राइनोजका समर्थक, टिमका साथीहरू र आफ्नो करियरभरि साथ दिने सबैप्रति समर्पित गरे।

उपाधि दाबेदार मानिएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार हुने क्वालिफायर-२ बारे मिशाराले भने, “हामीलाई विपक्षी को हो भन्ने कुराले फरक पर्दैन, किनकि यो मात्र एक खेल हो। यदि हामीले राम्रो क्रिकेट खेल्यौँ भने जित हाम्रै हुन्छ। म अरू कुराको वास्ता गर्दिनँ।”
लगातार दोस्रो दिन खेल्दा थकान भए पनि त्यसलाई व्यवस्थापन गरेर बिहीबार जित्दै चितवनलाई पहिलोपटक फाइनल पुर्याउनु एकमात्र लक्ष्य रहेको उनले बताए।
बुधबार मैदानमा नदेखिएका नियमित कप्तान सिकन्दर रजा बिहीबार खेल्छन् कि खेल्दैनन् भन्ने प्रश्नमा मिशाराले हाँस्दै भने, “यो त डाक्टरसँग सोध्नुपर्छ, किनकि म डाक्टर होइन!”
यद्यपि, रजा चोटका कारण आराम गर्नुपरेकाले नेपालमै होटलमा बसिरहेको उनले पुष्टि गरे।
बाहिरिएपछि के खोले विल बोसिस्टोले ?
लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएपछि काठमाडौं गोर्खाजका अस्ट्रेलियन ब्याटर विल बोसिस्टोले टोलीको हार, डेविड वार्नरको अभाव, आफ्नो चोट र नेपाली क्रिकेटप्रतिको लगावबारे महत्वपूर्ण कुराहरू राखे।
काठमाडौंले जितेका चारै खेलमा डेविड वार्नर टोलीमा रहेको प्रसङ्गमा बोसिस्टोले वार्नरको नेतृत्व, विकेटबीचको दौड, मिड-अफमा बसेर बलरहरूसँग बनाउने रणनीति र युवा खेलाडीमा भर्ने ऊर्जाको अभाव खड्किएको बताए।
यद्यपि, वार्नरबिना पनि टिम सक्षम रहेको दाबी गर्दै उनले थपे, “सुदूरपश्चिमविरुद्धको खेलपछि हामीले लय गुमायौँ र त्यसपछि कहिल्यै सम्हालिन सकेनौँ। टिम र ब्याटिङ अर्डरमा धेरै हेरफेर हुनुका साथै पछिल्ला खेलमा बलिङ योजना पनि कार्यान्वयन गर्न सकेनौँ।”

अघिल्ला सिजनमा बलिङसमेत गर्ने बोसिस्टोले यस सिजन एक ओभर पनि बलिङ नगर्नुको कारण काँधको चोट भएको खुलाए। चोटका कारण थ्रो र बलिङ गर्न नसक्दा तथा स्पिनरलाई सहयोग गर्ने पिचमा बलिङको मजा लिन नपाउँदा निराशा लागेको उनको भनाइ थियो।
कीर्तिपुरमा शीतका कारण बल चिप्लो हुने र प्रतियोगिताभर नै सबै टोलीबाट क्याच छुटेको स्वीकार गर्दै उनले भने, “राम्रो खेलाडीलाई जीवनदान दिँदा मूल्य चुकाउनैपर्छ। ब्याटिङका लागि त्यति सजिलो नभएको र बल टर्न भइरहेको पिचमा हाम्रो बलियो पक्ष मानिएको देब्रेहाते स्पिनलाई मिशाराले जसरी प्रहार गरे, त्यसका लागि उनी प्रशंसाका पात्र छन्।”
सिजन-१ मा कीर्तिपुरको घाँसे चौर र रूखमा चढेर खेल हेर्ने दर्शकको माहोलदेखि अहिलेको स्तरोन्नति र फ्लडलाइटसम्म नेपाली क्रिकेटको प्रगति देख्दा अनुहारमा मुस्कान आउने बोसिस्टोले बताए।
“जुनसुकै अवसर मिल्दा पनि म फेरि एनपीएल खेल्न आउन आतुर रहनेछु”, उनले भने।
बुधबारको जितसँगै चितवन राइनोजले बिहीबार साँझ ५ बजे कीर्तिपुरमै क्वालिफायर-२ मा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि भिडन्त गर्नेछ।
मंसिर ३, २०८३ बिहीबार ०७:५७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।