सुदूरपश्चिमसँगको खेलअघि शतकधारी मिशाराको प्रतिक्रिया : ‘विपक्षी को हो फरक पर्दैन, राम्रो क्रिकेट खेले फाइनल पुग्छौं’

सुदूरपश्चिमसँगको खेलअघि शतकधारी मिशाराको प्रतिक्रिया : ‘विपक्षी को हो फरक पर्दैन, राम्रो क्रिकेट खेले फाइनल पुग्छौं’

काठमाडौं : एनपिएल इतिहासकै सर्वाधिक अविजित १२० रन प्रहार गर्दै चितवन राइनोजलाई एलिमिनेटरमा सानदार जित दिलाएका प्लेयर अफ द म्याच कामिल मिशाराले बिहीबार सुदूरपश्चिम रोयल्सविरुद्ध हुने क्वालिफायर-२ का लागि आत्मविश्वासी सन्देश दिएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाली विकेटकिपर-ब्याटर मिशाराले आफूहरूलाई विपक्षी टोलीको नामभन्दा पनि मैदानमा राम्रो क्रिकेट खेल्ने कुरा मात्रै महत्त्वपूर्ण रहेको बताए।

‘विपक्षी को हो वास्ता छैन, भोलि जितेर फाइनल पुग्नु छ’
उपाधिको प्रमुख दाबेदार मानिएको सुदूरपश्चिम रोयल्ससँग भोलि हुने भिडन्तबारे सोधिएको प्रश्नमा मिशाराले निडर जवाफ दिँदै भने, “हामीलाई विपक्षी को हो भन्ने कुराले फरक पर्दैन, किनकि यो मात्र एक खेल हो। यदि हामीले राम्रो क्रिकेट खेल्यौं भने खेल जित्छौं। म अरू कुराको वास्ता गर्दिनँ।”

आज २० ओभर ब्याटिङ र २० ओभर विकेटकिपिङ गरेलगत्तै भोलि साँझ नै लगातार अर्को नकआउट खेल खेल्दा थकान हुँदैन भन्ने प्रश्नमा उनले थपे, “अलिकति गाह्रो त हुन्छ नै, तर यसलाई व्यवस्थापन गर्नुपर्छ। भोलि जितेर फाइनलमा स्थान पक्का गर्नु छ, त्यसैले अरू कुरा नसोची खेल जित्नमै ध्यान छ।”

चितवन हालसम्म एनपिएलको फाइनलमा नपुगेको सन्दर्भमा उनले आफूहरू बलियो टोली भएको प्रमाणित गर्ने यो उत्कृष्ट अवसर भएको बताए।

‘मलाई शतकको चिन्ता थिएन, यो राइनोज समर्थकलाई समर्पित छ’
अघिल्ला खेलहरूमा राम्रो सुरुवात पाए पनि ठूलो स्कोरमा बदल्न नसकेका मिशाराले आज भने सुरुवाती ओभरमै विकेट झरेपछि कप्तान रवि बोपारासँग मिलेर इनिङ्सलाई अन्तिमसम्म लैजाने योजना बनाएको सुनाए।

९० रन कटेपछि शतकको दबाब महसुस भयो कि भएन भन्ने प्रश्नमा उनले भने, “मलाई शतकको कुनै चिन्ता थिएन। पिच राम्रो भएकाले टिमका लागि रन बनाउनु आवश्यक थियो र मैले टिमको आवश्यकताअनुसार आफ्नो काम गरेँ।”

उनले यो कीर्तिमानी शतक चितवन राइनोजका समर्थक, टिमका सहकर्मी तथा आफ्नो करियरभरि साथ दिने सबैप्रति समर्पित गरे।

सिकन्दर रजाको अवस्थाबारे ठट्टा : ‘म डाक्टर होइन!’
आजको महत्त्वपूर्ण खेलमा चितवनका स्टार अलराउन्डर सिकन्दर रजा मैदानमा नदेखिनुको कारण र भोलिको खेलमा उनको उपलब्धताबारे पत्रकारले सोधेको प्रश्नमा मिशाराले मुस्कुराउँदै ठट्यौलो जवाफ दिए- “यसका लागि त डाक्टरसँग कुरा गर्नुपर्छ, किनकि म डाक्टर होइन!”

यद्यपि, उनले रजा चोटका कारण आराम गर्नुपरेकाले नेपालमै रहेको र होटलमै आराम गरिरहेको जानकारी दिए। रजा भोलिको क्वालिफायर-२ मा खेल्ने वा नखेल्ने भन्नेबारे चिकित्सकको सल्लाहपछि मात्र टुङ्गो लाग्ने उनको भनाइ थियो।

मंसिर २, २०८३ बुधबार २२:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।