६१ रनको जितसहित चितवन क्वालिफायर-२ मा, काठमाडौं एनपीएलबाट बाहिरियो
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न नकआउट भिडन्तमा चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमै समेटियो।
यो जितसँगै चितवनले एनपीएल इतिहासमा पहिलोपटक एलिमिनेटरको बाधा पार गरेको छ। अब चितवनले फाइनल प्रवेशका लागि बिहीबार हुने क्वालिफायर-२ मा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
उक्त खेलको विजेताले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ। अर्कोतर्फ, अघिल्लो सिजनझैँ यसपटक पनि एलिमिनेटरमै रोकिएको काठमाडौँको यात्रा समाप्त भएको छ।
रिजन र उसामाको घातक बलिङमा काठमाडौं धराशायी
२ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सुरुवातदेखि नै दबाब झेल्नुपर्यो। दोस्रो ओभरको दोस्रो बलमै ओपनर साहिल पटेललाई रिजन ढकालले आउट गरे भने ४.५ ओभरमा अर्का ओपनर साम हिजलेटलाई पनि रिजनले नै बोल्ड गरे। पावरप्लेमा काठमाडौंले २ विकेट गुमाएर ३६ रन मात्र जोड्न सक्यो।
तेस्रो विकेटका लागि विलियम बोसिस्टो र रसिद खानले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि स्पिनर उसामा मिर र कुशल मल्लले मध्यक्रम भत्काइदिए।
काठमाडौंका लागि सर्वाधिक ३७ रन बनाएका बोसिस्टो ९.४ ओभरमा उसामाको शिकार बने। लगत्तै १०.२ ओभरमा १२ रन बनाएका रसिदलाई कुशल मल्लले पभेलियन फर्काए।
त्यसपछि सहन अराच्चिगेले १३ बलमा २ चौका र १ छक्कासहित आक्रामक २४ रन जोडे पनि १३.१ ओभरमा उसामाकै बलमा आउट भए।
सोही ओभरको तेस्रो बलमा कप्तान करण केसीलाई उसामाले बोल्ड गरेपछि काठमाडौं ९२/६ को नाजुक स्थितिमा पुग्यो।
जहानदाद खान सलाहुद्दिन खानको बलमा आउट भए भने रिजनले सोनु देवकोटा र सन्तोष यादवलाई पभेलियन पठाउँदै काठमाडौंको आशा समाप्त पारे।
अन्तिमतिर भीम शार्कीले १७ बलमा ३ छक्कासहित अविजित ३० रन र गणेश गौतमले अविजित ४ रन जोड्दै दशौं विकेटका लागि २८ रनको साझेदारी गरे पनि त्यो हार टार्न पर्याप्त भएन।
चितवनको जितमा बलिङतर्फ रिजन ढकालले ४ र उसामा मिरले ३ विकेट लिए। उनीहरूलाई साथ दिँदै कमलसिंह ऐरीले ४ ओभरमा मात्र १६ रन खर्चेर किफायती बलिङ गरे।
अर्थात, चितवनका यी तीन बलरले १२ ओभरमा मात्र ४७ रन खर्चेर ७ विकेट लिए। कुशल मल्ल र सलाहुद्दिन खानले १-१ विकेट हात पारे।
कामिल मिशाराको ऐतिहासिक शतक र कीर्तिमानी २०४
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले श्रीलंकाली विकेटकिपर-ब्याटर कामिल मिशाराको कीर्तिमानी शतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
चौथो ओभरमा काठमाडौंका कप्तान करण केसीले लगातार दुई बलमा देव खनाल र डेविड मलानलाई आउट गर्दै चितवनलाई २२/२ को कठिन अवस्थामा पुर्याएका थिए। तर, त्यहाँबाट मिशारा र कप्तान रवि बोपाराले तेस्रो विकेटका लागि १५४ रनको शानदार साझेदारी गर्दै टोलीलाई विशाल योगफलतर्फ डोर्याए।
मिशाराले मात्र ५९ बलमा ५ चौका र १० छक्काको मद्दतमा अविजित १२० रन प्रहार गरे। यो एनपीएल इतिहासकै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो।
यसअघि मार्क वाटको नाममा अविजित १ सय १४ रनको कीर्तिमान थियो। साथै, एनपीएलको प्लेअफ चरणमा शतक बनाउने मिशारा पहिलो खेलाडी बने भने चितवनको २०४/४ प्लेअफ इतिहासकै सर्वाधिक र पहिलो दुई सय प्लस टिम स्कोर बन्यो।
उनलाई दरिलो साथ दिएका कप्तान बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए। विवेक यादवले ३ बलमा ८ रन जोडे भने कुशल मल्ल शून्यमा अविजित रहे।
काठमाडौंका बलरहरूमा करण केसी र रसिद खानबाहेक अन्य कोही पनि प्रभावकारी हुन सकेनन्। एक ओभर मात्र बलिङ गरेका सोनु देवकोटाले २७ रन खर्चेका थिए।
मंसिर २, २०८३ बुधबार २०:५१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।