सुदूरपश्चिमको खेलबाट लय गुमायौं, त्यसपछि सम्हालिनै सकेनौं : विल बोसिस्टो

सुदूरपश्चिमको खेलबाट लय गुमायौं, त्यसपछि सम्हालिनै सकेनौं : विल बोसिस्टो

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को एलिमिनेटरमा चितवन राइनोजसँग ६१ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि काठमाडौं गोर्खाजका अस्ट्रेलियन ब्याटर विल बोसिस्टोले टोलीको हारको मुख्य कारण, डेविड वार्नरको अनुपस्थिति र आफ्नो लुकेको चोटबारे खुलेर बताएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोसिस्टोले अघिल्ला सिजनमा जस्तो यस पटक बलिङ नगर्नुको कारण काँधको चोट भएको खुलासा गरे भने नेपाली क्रिकेट र एनपिएलको विकास देखेर आफू निकै प्रभावित भएको बताए।

अघिल्ला दुई सिजनमा ब्याट र बल दुवैबाट प्रभाव जमाएका बोसिस्टोले यस सिजन एक ओभर पनि बलिङ गरेनन्। यसबारे सोधिएको प्रश्नमा उनले आफू काँधको चोटसँग जुधिरहेको बताए।

“मलाई काँधमा चोट छ, जसका कारण म थ्रो वा बलिङ गर्न सक्दिनँ,” उनले निराशा व्यक्त गर्दै भने, “कुनै पनि स्पिनरका लागि यहाँको टर्न हुने पिचमा बलिङ गर्न पाउनु निकै रमाइलो अवसर हुन्थ्यो। तर चोटका कारण बलिङ र चाहेजस्तो फिल्डिङ गर्न नपाउँदा तथा ब्याटिङमा पनि म्याच जिताउने इनिङ्स खेल्न नसक्दा दुःख लागेको छ।”

‘वार्नरको अभाव खड्कियो, सुदूरपश्चिमविरुद्धको खेलपछि सम्हालिन सकेनौं’
काठमाडौंले जारी सिजनमा जितेका चारै खेल अस्ट्रेलियन दिग्गज डेविड वार्नर टोलीमा हुँदा जितेको थियो।

वार्नरको अनुपस्थितिलाई ठूलो क्षतिका रूपमा स्वीकार गर्दै बोसिस्टोले भने, “विश्व क्रिकेटको जुनसुकै टोलीमा पनि वार्नर शीर्ष क्रममा हुँदा टिम बलियो हुन्छ। उनले रन मात्र होइन, नेतृत्व, विकेटबीचको दौड, मिड-अफमा बसेर बलरहरूसँग बनाउने रणनीति र युवा नेपाली खेलाडीमा भर्ने ऊर्जाबाट टिमका अरू खेलाडीको आत्मविश्वास बढाउँथे।”

यद्यपि, वार्नरबिना पनि काठमाडौं उपाधि जित्न सक्षम टोली रहेको दाबी गर्दै उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलपछि टोलीले लय गुमाएको स्वीकार गरे।

“हामीले सुदूरपश्चिमविरुद्धको खेलबाट लय गुमायौं र त्यसपछि कहिल्यै सम्हालिन सकेनौं,” उनले भने, “टिम र ब्याटिङ क्रममा धेरै हेरफेर हुनुका साथै पछिल्ला खेलमा हामीले बलिङको योजना पनि सही ढङ्गले कार्यान्वयन गर्न सकेनौं।”

छुटेका क्याच र कामिल मिशाराको तारिफ
बलिङ र फिल्डिङमा काठमाडौं चुकेको स्वीकार गर्दै बोसिस्टोले कीर्तिपुरमा शीतका कारण बल चिप्लो हुने भएकाले क्याच लिन सजिलो नभएको बताए।

“प्रतियोगिताभर नै सबै टोलीबाट थुप्रै क्याच छुटेका छन्। राम्रा खेलाडीलाई अवसर दिँदा त्यसको मूल्य चुकाउनै पर्छ”, उनले भने। बोसिस्टोले कीर्तिमानी १२० रन बनाएका चितवनका कामिल मिशाराको खुलेर प्रशंसा गरे।

“ब्याटिङका लागि त्यति सजिलो नभएको र बल टर्न भइरहेको पिचमा पहिलो इनिङ्समै १२० रन बनाउनु अद्भुत हो,” उनले थपे, “हाम्रो देब्रे हाते स्पिन बलिङ यो प्रतियोगिताभरि नै बलियो पक्ष थियो, तर मिशाराले त्यसैलाई निशाना बनाएर निकै सफा प्रहार गरे।”

‘फेरि एनपिएल खेल्न आतुर छु’
सिजन-१ देखि सिजन-३ सम्म एनपिएलको यात्रा नियालेका बोसिस्टोले नेपाली क्रिकेटको प्रगतिबारे निकै मन छुने भनाइ राखे।

“नेपालको क्रिकेट र यहाँको प्रगति सम्झिँदा मेरो अनुहारमा मुस्कान आउँछ,” उनले मुस्कुराउँदै भने, “म अलि पुरानो सोचको मान्छे हुँ- सिजन-१ मा कीर्तिपुरको घाँसे चौर, रूखमा चढेर खेल हेर्ने दर्शक र त्यो माहोल मलाई निकै मन परेको थियो, त्यो साँच्चै विशेष थियो। तर अहिले रङ्गशालाको स्तरोन्नति र फ्लडलाइट देख्दा साँच्चै अद्भुत लाग्छ।”

नेपाल क्रिकेट संघ (क्यान), स्वयंसेवक र नेपाली क्रिकेटप्रेमी दर्शकको उत्साहकै कारण विश्वका राम्रा खेलाडी यहाँ खेल्न आकर्षित भइरहेको बताउँदै उनले भने, “जुनसुकै अवसर मिल्दा पनि म फेरि एनपिएल खेल्न आउन आतुर रहनेछु। यति ठूलो रङ्गशाला र यस्तो अद्भुत माहोलमा हरेक दिन खेल्न पाउनु जोकोही खेलाडीको सपना हुन्छ।”

उपाधि कसले जित्ला ?
बाँकी तीन टोलीमध्ये उपाधि दाबेदारबारे बोल्दै उनले सुदूरपश्चिम रोयल्सको उत्कृष्ट फिल्डिङ, चितवन राइनोजको आज देखिएको विस्फोटक ब्याटिङ र साविक विजेता लुम्बिनी लायन्सको ‘जित्ने बाटो खोजिहाल्ने’ क्षमताका कारण तीनै टोली उत्तिकै बलियो रहेको बताए।

अन्तिम दुई खेलमा सहभागी हुन नपाएकोमा खल्लो लागे पनि दर्शकले भरिपूर्ण रङ्गशालामा उत्कृष्ट खेल हुने अपेक्षासहित उनले तीनै टोलीलाई शुभकामना दिए।

मंसिर २, २०८३ बुधबार २२:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।