एनपिएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा ठमेलबाट भारतीय नागरिक पक्राउ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण चलिरहेका बेला सट्टेबाजी (बेटिङ) गराएको आरोपमा प्रहरीले काठमाडौंको ठमेलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गर्ने-गराउने कार्यमा संलग्न रहेको आरोपमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया मंगलबार पक्राउ परेका हुन्।
एनपिएलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पथरियाको साथमा रहेका दुई थान मोबाइल चेकजाँच गर्दा अनलाइन बेटिङ साइट लगइन गरी एनपिएलका खेलमा पटक-पटक गरी उनले आठ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गरेका थिए।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको कार्कीले जानकारी दिए।
मंसिर १, २०८३ मंगलबार २२:३५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।