चितवनले टस जित्यो, पहिलो पटक एलिमिनेटर जित्ने दाउमा काठमाडौं र चितवन

चितवनले टस जित्यो, पहिलो पटक एलिमिनेटर जित्ने दाउमा काठमाडौं र चितवन

काठमाडौं : प्रिमियर लिग (एनपिएल) सिजन-३ को एलिमिनेटर खेलमा चितवन राइनोजका कप्तान रवि बोपाराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने ‘गर या मर’को यो नकआउट भिडन्तमा काठमाडौं गोर्खाजले पहिला बलिङ गर्नेछ।

लिग चरणमा ८ अङ्कसहित तेस्रो स्थानमा रहेको काठमाडौं र ७ अङ्कसहित चौथो स्थानमा रहेको चितवन दुवैका लागि आजको खेल प्रतिष्ठा र उपाधि दौड जोगाउने अन्तिम अवसर हो।

आज पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने क्वालिफायर-२ मा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। मङ्गलबारको क्वालिफायर-१ मा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगिसकेको छ।

रोचक संयोग के छ भने, एनपिएलका अघिल्ला दुई संस्करणमा यी दुवै टोली एलिमिनेटरबाटै बाहिरिएका थिए। पहिलो संस्करणमा चितवन कर्णाली याक्ससँग र दोस्रो संस्करणमा काठमाडौं लुम्बिनी लायन्ससँग एलिमिनेटरमै पराजित भएको थियो।

त्यसैले आज जित्ने टोलीले एनपिएल इतिहासमा पहिलो पटक एलिमिनेटरको बाधा पार गर्नेछ। जारी सिजनको लिग चरणमा काठमाडौंले चितवनलाई १० रनले हराएको थियो भने समग्र हेड-टु-हेडमा काठमाडौं २-१ ले अघि छ।

चितवन राइनोजको प्लेइङ-११ : रवि बोपारा (कप्तान), कामिल मिशारा (विकेटकिपर), डेविड मलान, उसामा मिर, कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेककुमार यादव, रञ्जित कुमार र सलाहुद्दिन खान।

काठमाडौं गोर्खाजको प्लेइङ-११ : करण केसी (कप्तान), साहिल पटेल (विकेटकिपर), भीम शार्की, रसिद खान, सन्तोष यादव, गणेश गौतम, सोनु देवकोटा, जहानदाद खान, सहन अराच्चिगे, विलियम बोसिस्टो र साम हिजलेट (स्यामुएल डेली हिजलेट)।

मंसिर २, २०८३ बुधबार १६:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।