मिशाराको शतकीय आँधी : एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर, काठमाडौंलाई विशाल लक्ष्य

मिशाराको शतकीय आँधी : एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर, काठमाडौंलाई विशाल लक्ष्य

काठमाडौं : श्रीलंकाली विकेटकिपर-ब्याटर कामिल मिशाराको कीर्तिमानी विस्फोटक शतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो।

चितवनले दोस्रो इनिङ्समा बनाएको यो योगफल एनपीएलको प्लेअफ इतिहासकै सर्वाधिक र समग्रमा पहिलो २ सय भन्दा बढीको टिम स्कोर हो। साथै, एनपीएलको तीन सिजनमा समग्रमा यो पाँचौं २ सय भन्दा बढीको टिम स्कोर हो।

एनपीएल इतिहासकै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर
२२ रनमै २ विकेट गुमाएर दबाबमा परेको चितवनको इनिङ्स सम्हाल्दै मिशाराले मात्र ५९ बलमा अविजित १२० रन प्रहार गरे। ५ चौका र १० गगनचुम्बी छक्का प्रहार गरेका उनको स्ट्राइक रेट २०३.३८ रह्यो।

यससँगै मिशाराले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

यसअघि स्कटिस अलराउन्डर मार्क वाटले सन् २०२५ मा कर्णाली याक्सका लागि लुम्बिनी लायन्सविरुद्ध बनाएको अविजित ११४ रन नै एनपीएलको सर्वाधिक व्यक्तिगत स्कोर थियो।

त्यस्तै, एनपीएलको प्लेअफ चरणमा शतक प्रहार गर्ने मिशारा पहिलो खेलाडी समेत बनेका छन्। यसअघिका चारै शतक-एन्ड्रिज गउस, मार्क वाट, एडम रोसिङ्टन र युवराज सामरा लिग चरणमा बनेका थिए।

३३ बलमा अर्धशतक पूरा गरेका मिशाराले ५३ बलमा शतक पूरा गरेका थिए। शतकपछि पनि उनले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ जारी राख्दै टिमको स्कोर २०४ सम्म पुर्याए।

खराब सुरुवातपछि मिशारा-बोपाराको १५४ रनको साझेदारी
चितवनको सुरुवात भने निकै कमजोर रहेको थियो। चौथो ओभरमा काठमाडौंका कप्तान करण केसीले लगातार दुई बलमा विकेट लिँदै चितवनलाई झट्का दिए।

३.१ ओभरमा देव खनाल १७ रन बनाएर आउट भए भने लगत्तै ३.२ ओभरमा स्टार ब्याटर डेविड मलान शून्य रनमै पभेलियन फर्किए। पावरप्लेको ६ ओभरमा चितवन २ विकेटको क्षतिमा ३४ रनमै समेटिएको थियो।

तर, २२/२ को कठिन अवस्थाबाट मिशारा र कप्तान रवि बोपाराले तेस्रो विकेटका लागि १५४ रनको ऐतिहासिक साझेदारी गर्दै खेलको नक्सा नै बदलिदिए।

बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ्स खेले। उनी १८.३ ओभरमा रसिद खानको बलमा बोल्ड भए।

त्यसपछि विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन जोडेर १८.६ ओभरमा आउट भए भने कुशल मल्ल शून्य रनमा अविजित रहे। चितवनले अन्तिम ५ ओभरमा २ विकेट गुमाएर ६४ रन बटुल्यो।

करण र रसिदको २-२ विकेट, सोनु देवकोटा महँगा
काठमाडौंका लागि बलिङमा कप्तान करण केसी र रसिद खानले मात्र सफलता हात पारे।

जहानदाद खानले ४ ओभरमा ३४ रन, सहन अराच्चिगेले २ ओभरमा १९ रन, सन्तोष यादवले २ ओभरमा २१ रन र गणेश गौतमले ३ ओभरमा ३१ रन खर्चे।

एक ओभर मात्र बलिङ गरेका सोनु देवकोटाले २७ रन खर्चेपछि चितवनको रनगति झनै उकालो लागेको थियो।

क्वालिफायर-२ मा प्रवेश गरी बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्न काठमाडौं गोर्खाजले अब २० ओभरमा २०५ रनको कठिन लक्ष्य पछ्याउनुपर्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

मंसिर २, २०८३ बुधबार १८:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।