दानबहादुर कार्कीको रिटलाई सर्वोच्चको अग्राधिकार, मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश
काठमाडौं : सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनलाई पेसीमा अग्राधिकार दिँदै मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णय झिकाउन आदेश दिएको हो। रिटको विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई विचार गर्दा शीघ्र निर्णय गर्नुपर्ने देखिएको भन्दै इजलासले पेसीमा अग्राधिकार दिन आदेश दियो।
विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै इजलासले अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। त्यसको लागि मंसिर ७ गते अर्को पेसी तोकिएको छ।
सरकारले प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेपछि कार्की पुनर्बहालीको माग लिएर सर्वोच्च अदालत पुगेका थिए। निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी आधार र कारणसहित १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।
गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र प्रहरी महानिरीक्षकमा डा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
मंसिर २, २०८३ बुधबार १७:५३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।