राजस्व चुहावट मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका फरार व्यापारी वीरगन्जबाट पक्राउ

राजस्व चुहावट मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका फरार व्यापारी वीरगन्जबाट पक्राउ

काठमाडौं : राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको फरार व्यापारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रौतहटको गरूडा नगरपालिका स्थायी घर भएका गुल्सन श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा श्रीवास्तवलाई वीरगन्जबाट पक्राउ गरेको हो। 

संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इनटरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल नामक कम्पनीको नामबाट नक्कली मूल्य अभिवृद्धि करको विजक जारी गरी कारोबार गरेको भन्दै २०८१ वैशाख २४ गते पाटन उच्च अदालतले ५३ करोड ८१ लाख बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो।

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसहितको प्रतिवेदनका आधारमा दायर भएको मुद्दामा उच्च अदालत पाटनले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।

मंसिर २, २०८३ बुधबार १७:०४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।