काठमाडौं-तराई/मधेस द्रुतमार्गको महादेवटार सुरुङको ‘ब्रेकथ्रु’, आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत
बागमती : काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङ मार्गको बुधबार ‘ब्रेकथ्रु’ गरिएको छ। तीन हजार ४५४ मिटर लामो उक्त सुरुङका दुवैतर्फका खण्ड जोड्ने कार्यक्रममा आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिइएको हो।
ब्रेकथ्रु कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएपछि निर्माण कार्यलाई तीव्रता दिइएको बताए।
आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेकाले आगामी दिनमा थप प्रगति हासिल हुने उनको भनाइ थियो। श्रेष्ठका अनुसार विगतमा विभिन्न चरणमा निर्माण प्रभावित भए पनि अहिले ललितपुरको खोकना-डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी केही समस्या बाँकी छन्।
उक्त ६.५ किलोमिटर खण्डको समस्या समाधानका लागि पहल भइरहेको र समाधान भएपछि ठेक्का व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। नेपाली सेनाका अनुसार आयोजनाअन्तर्गत सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका छ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ। अन्य चार स्थानका आठ वटा सुरुङ निर्माणाधीन छन्।
ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा परामर्शदाता र निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो।
मंसिर २, २०८३ बुधबार २०:४३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।