ठमेल र दरबारमार्गपछि अब राजधानी काठमाडौं चौबीसै घण्टा खुला गर्ने तयारी
काठमाडौं : मुलुकको संघीय राजधानी काठमाडौंलाई चौबीसै घण्टा खुला राख्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी अगाडि बढाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै राजधानीलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै २४ घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणको काम भइरहेको जानकारी दिएका हुन्।
प्रशासनका अनुसार काठमाडौं देशकै अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा प्रबन्धसहित न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको छ।
यसअन्तर्गत सडक यातायात, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था, विद्युत्, इन्टरनेट, सिसीटिभी र सडक बत्तीलगायतका अत्यावश्यक पूर्वाधार चुस्त बनाउने काम भइरहेको प्रजिअ पौडेलले बताए।
त्यस्तै, काठमाडौं जिल्लाभित्रका व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत चौबीसै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, यातायात व्यवसायी र निजी क्षेत्रसँग आवश्यक समन्वय तथा छलफल गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मंसिर २, २०८३ बुधबार १३:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।