एनपीएल प्लेअफमा पुगेका टिमबाट ५ खेलाडी राइजिङ स्टार्सको स्क्वायडमा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’का लागि एनपीएल प्लेअफ पुगेका चार टोलीबाट ५ खेलाडी समावेश गर्दै सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
आगामी नोभेम्बर १९ देखि २९ सम्म हुने ५० ओभरको यस प्रतियोगिताका लागि छनोट गरिएको टोलीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफबाट बाहिरिसकेका टोलीका खेलाडीहरूको बाहुल्य देखिएको छ।
क्यानका सचिव पारस खड्काले कात्तिक २९ गते जारी गरेको विज्ञप्तिअनुसार एनपीएलको प्लेअफमा पुगेका चारवटा टोलीबाट जम्मा ५ जना खेलाडी मात्र राष्ट्रिय टोलीमा तानिएका छन्।
जसमध्ये सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजबाट एक-एक जना तथा शीर्ष स्थानको लुम्बिनी लायन्सबाट दुई जना खेलाडी समावेश छन्।
बाँकी १० जना खेलाडी भने एनपीएलको लिग चरणबाटै बाहिरिसकेका चार टोली कर्णाली याक्स, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबाट समेटिएका छन्।
एनपीएलका प्लेअफ खेलहरू नोभेम्बर १७ देखि २१ सम्म चल्ने र उता कतारमा नोभेम्बर १९ देखि नै राइजिङ स्टार्स सुरू हुने भएकाले पनि प्लेअफ खेलिरहेका टोलीका प्रमुख खेलाडीहरूलाई असर नपर्ने गरी सन्तुलन मिलाइएको देखिन्छ।
कुन एनपीएल टोलीबाट को-को परे?
प्लेअफमा पुगेका चार टोलीमध्ये लुम्बिनी लायन्सबाट सन्दीप जोरा र अविशेष गौतम, सुदूरपश्चिम रोयल्सबाट ईशान पाण्डे, काठमाडौं गोर्खाजबाट राशिद खान र चितवन राइनोजबाट देव खनाल टोलीमा छन्।
लिग चरणबाट बाहिरिएका चार टोलीमध्ये कर्णाली याक्सबाट सोमपाल कामी, नन्दन यादव, पवन सर्राफ र दीपक डुम्रे छन्।
यस्तै विराटनगर किङ्सबाट कप्तान सन्दीप लामिछानेसहित लोकेश बम र बसिर अहमद, पोखरा एभेन्जर्सबाट कुशल भुर्तेल र अर्जुन कुमाल अनि जनकपुर बोल्ट्सबाट ललित राजवंशी टोलीमा छन्।
नेपालको समूह र खेल तालिका
प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै भारत ‘ए’, साविक विजेता पाकिस्तान शाहिन्स (पाकिस्तान ‘ए’) र यूएई रहेका छन्।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।
घोषित १५ सदस्यीय नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, देव खनाल, सन्दीप जोरा, अविशेष गौतम, ईशान पाण्डे र राशिद खान ।
कात्तिक ३०, २०८३ सोमबार १४:०८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।