एनपीएल प्लेअफ : लुम्बिनीको ‘टिम गेम’, सुदूरपश्चिमको ‘लो-स्कोरिङ’ जादु अनि काठमाडौं र चितवनको...

एनपीएल प्लेअफ : लुम्बिनीको ‘टिम गेम’, सुदूरपश्चिमको ‘लो-स्कोरिङ’ जादु अनि काठमाडौं र चितवनको...

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल आइतबार सकिए।

लिग चरणको अन्तिम दिन खेलिएका दुईवटै खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका टोलीहरू कर्णाली याक्स र पोखरा एभेन्जर्सले सान्त्वना जित निकाल्दा शीर्ष चारको अन्तिम समीकरण र अंकतालिकाको छिनोफानो भयो।

आइतबार दिउँसो भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गर्यो भने साँझ भएको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजमाथि ५५ रनको कीर्तिमानी जित दर्ता गर्यो।

यसअघि नै साविक विजेता लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसक्दा विराटनगर किङ्, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिसकेका थिए।

लिग चरणका २८ खेल सकिँदा शीर्ष स्थानको लुम्बिनी लायन्सले ७ खेलमा ५ जित, १ हार र १ अंक बाँड्दै ११ अंक जोडेर सिधै क्वालिफायर-१ मा स्थान बनाएको छ।

लिग चरण पूरा गरिसकेको सुदूरपश्चिम रोयल्स ७ खेलमा ५ जित र २ हारसहित १० अंक बटुलेर दोस्रो स्थानमा रहँदै क्वालिफायर-१ मा पुगेको छ। आइतबार पोखरालाई हराएको भए १० अंकसहित राम्रो नेट रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिने थियो।

तर, काठमाडौं पोखरासँग ५५ रनले पराजित भएपछि ७ खेलबाट ४ जित र ३ हारसहित ८ अंकमै सीमित हुँदै तेस्रो स्थानमा रह्यो।

यता, आइतबार कर्णालीलाई हराएर ९ अंक बनाउने अवसर गुमाएको चितवन राइनोज ७ खेलमा ३ जित, ३ हार र १ अंक बाँड्दै ७ अंकसहित चौथो स्थानमा रह्यो।

०००

लुम्बिनी लायन्स
साविक विजेता लुम्बिनी यस सिजनको सबैभन्दा सन्तुलित टोली देखिएको छ। काठमाडौंसँग एक खेल हारेको र चितवनसँग वर्षाका कारण अंक बाँडेको लुम्बिनीले बाँकी पाँचवटै खेलमा जित निकाल्यो।

कुनै एक स्टार खेलाडीमा निर्भर नभई प्रत्येक खेलमा फरक-फरक खेलाडीले खेल जिताउनु लुम्बिनीको मुख्य शक्ति हो। अझ रोचक पक्ष के छ भने, सिजनमा एउटा पनि व्यक्तिगत अर्धशतक नबनाई लुम्बिनी शीर्ष स्थानमा पुगेको छ।

अस्ट्रेलियन अलराउन्डर डार्सी सर्ट ७ खेलमा १ सय ९१ रनसहित टोलीका शीर्ष रनकर्ता हुन्। ओपनर आसिफ शेखले ७ खेलमा १ सय ५३ रन बनाउँदै शीर्ष क्रम सम्हालेका छन्। कप्तान रोहितकुमार पौडेल, निरोशन डिक्वेला र फिनिसर सन्दीप जोराले मध्य र तल्लो क्रमलाई बलियो बनाएका छन्।

पेसर किशोर महतोले ६ खेलमा १० विकेट, रुबेन ट्रम्पेलम्यानले ६ खेलमा ९ विकेट, स्पिनर शेर मल्लले ६ खेलमा ९ विकेट र अभिषेश गौतमले ५ खेलमा ७ विकेट लिँदै लुम्बिनीको बलिङ मेरुदण्ड सम्हालेका छन्।

सुदूरपश्चिम रोयल्स
अघिल्ला दुई सिजनको उपविजेता सुदूरपश्चिम लगातार तेस्रो पटक प्लेअफमा पुग्ने एक मात्र टोली हो।

सुरुवाती ३ खेलमध्ये २ हार बेहोरेपछि सानदार पुनरागमन गर्दै उसले लगातार चितवन, कर्णाली, जनकपुर र काठमाडौंलाई पराजित गर्यो। आइतबार पोखराले काठमाडौंलाई हराएसँगै सुदूरपश्चिमले दोस्रो स्थान पक्का गर्दै क्वालिफायर-१ मा स्थान सुरक्षित गर्यो।

ब्याटिङमा मध्यम प्रदर्शन भए पनि कठिन र कम स्कोर जोगाउन सुदूरपश्चिम माहिर देखिएको छ। उसले जनकपुरविरुद्ध १ सय २० रन र काठमाडौंविरुद्ध १२५ रनको सानो लक्ष्यसमेत डिफेन्ड गरेको छ।

कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको ब्याटिङ एक्लैजसो थामेका छन्। उनले ७ खेलमा १ सय ५१ रन जोडेका छन्, जसमा शुक्रबार काठमाडौंविरुद्ध ८ रनमा ४ विकेट गुमेको जस्तो नाजुक स्थितिबाट टोलीलाई जिताएको म्याच-विनिङ इनिङ्ससमेत सामेल छ। उनलाई ब्रान्डन म्याकमुलेन र इशान पाण्डेले साथ दिएका छन् भने थरिन्दु रत्नायके र आरिफ शेखले तल्लो क्रममा उपयोगी रन बनाएका छन्।

यस सिजन टी-२० डेब्यु गरेका देब्रेहाते स्पिनर अनिल खरेल ७ खेलमा १० विकेट लिँदै टोलीका सर्वाधिक सफल बलर बनेका छन्। उनलाई स्कट कुगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी तथा डेथ ओभरका विशेषज्ञ हेमन्त धामीले दरिलो साथ दिएका छन्।

काठमाडौं गोर्खाज
कप्तान करण केसीको नेतृत्वमा काठमाडौंले सुरुवाती हारपछि लगातार चार खेल जित्दै प्लेअफमा स्थान बनाएको हो।

काठमाडौंले लुम्बिनीलाई ३६ रनले र चितवनलाई १० रनले हराएर आफ्नो बलियो दाबेदारी प्रमाणित गरिसकेको छ। यद्यपि, लिगका अन्तिम दुई खेलमा सुदूरपश्चिम र पोखरासँग पराजित हुँदा काठमाडौं क्वालिफायर-१ खेल्नबाट चुक्दै तेस्रो स्थानमा रह्यो।

सुरुवाती चार खेल खेलेर अस्ट्रेलियन दिग्गज डेभिड वार्नर स्वदेश फर्किएपछि काठमाडौंको शीर्ष क्रम दबाबमा देखिएको छ।

सुदूरपश्चिमसँग १ सय २६ रन पछ्याउन नसकेर ७ रनले हारेको खेल र आइतबार पोखराविरुद्ध २ सय २५ रनको लक्ष्य पछ्याउँदा १९.५ ओभरमा १६९ रनमै समेटिएको खेल त्यसको उदाहरण हो। साथै, पोखराविरुद्ध बलिङ आक्रमण पनि महँगो साबित भएको थियो।

मध्यक्रमका अलराउन्डर राशिद खान काठमाडौंका सर्वाधिक सफल ब्याटर हुन्। उनले ७ खेलमा कर्णाली र चितवनविरुद्ध २ अर्धशतकसहित कुल १ सय ८६ रन जोडेका छन्। कप्तान करण केसी, श्रीलङ्काली सहान अराचिगे र ओपनर साहिल पटेलको योगदान मुख्य छ।

वार्नर गएपछि साम हेजलेट र दुशान हेमन्थाले टोलीमा योगदान दिइरहेका छन् भने पोखराविरुद्ध विलियम बोसिस्टो र सोनु देवकोटाले पनि आक्रामक ब्याटिङ गरेका थिए।

२३ वर्षीय पाकिस्तानी पेसर जहानदाद खान ७ खेलमा १२ विकेटसहित समग्र लिगकै संयुक्त सर्वाधिक विकेटकर्ता हुन्। उनलाई अलराउन्डर सन्तोष यादव, कप्तान करण केसी, सहान अराचिगे र शाहब आलमले साथ दिएका छन्।

चितवन राइनोज
दोस्रो सिजनमा सातौँ स्थानमा खस्किएको चितवनले तेस्रो सिजनमा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा स्थान पक्का गरेको हो।

कुशल मल्लको अनुपस्थितिमा सुरुवाती खेलमा रवि बोपाराले कप्तानी सम्हाले पनि पछि मल्ल टोलीमा फर्किए। यद्यपि, चितवनको कप्तानी सिकन्दर रजाले नै निरन्तर सम्हालिरहेका छन्।

प्लेअफ स्थान पक्का भइसकेकाले आइतबार कर्णालीविरुद्धको अन्तिम खेलमा चितवनले प्रमुख इङ्ग्लिस ब्याटरद्वय रवि बोपारा र डेविड मलान तथा स्पिनर रञ्जित कुमारलाई मैदान उतारेको थिएन।

उक्त खेलमा १५४ रनको लक्ष्य पछ्याउँदा चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो। उसमा मिरले अविजित २८, कामिल मिश्राले २५, कुशल मल्लले १८, देव खनालले १४ र अशोक धामीले ११ रन बनाए।

चितवनको मुख्य शक्ति अनुभवी इङ्ग्लिस ब्याटर र घरेलु सन्तुलन हो। रवि बोपारा ५ इनिङ्समा १ सय ८३ रनसहित टोलीका प्रमुख खम्बा हुन्। उनलाई डेविड मलानले ४ इनिङ्समा १ सय ४१ रन बनाउँदै बलियो साथ दिएका छन्। यस्तै, डान मोस्ली, सिकन्दर रजा र कुशल मल्लले मध्यक्रम सम्हालेका छन्।

चितवनको बलिङ आक्रमण लिगकै उत्कृष्टमध्ये एक मानिएको छ। देब्रेहाते पेसर रिजन ढकाल ६ खेलमा १२ विकेट र कमलसिंह ऐरी ६ खेलमा १२ विकेटसहित सिजनको संयुक्त सर्वाधिक विकेटकर्ता बनेका छन्। देब्रेहाते स्पिनर रञ्जित कुमारले पनि विपक्षीलाई दबाबमा राखेका छन् भने आइतबार उसमा मिर र सलाउद्दिन खानले समेत प्रभावशाली बलिङ गरे।

बाहिरिएका टोलीका स्टार र प्लेअफको अपेक्षा
लिग चरणबाट बाहिरिएका टोलीका खेलाडीहरू व्यक्तिगत प्रदर्शनको शीर्ष सूचीमा हाबी देखिएका छन्।

समग्र सर्वाधिक रन बनाउने सूचीमा पोखराका युवराज सिंह सामरा २ सय ९४ रनसहित शीर्ष स्थानमा उक्लिएका छन् भने विराटनगरका लोकेश बम २ सय ४२ रनसहित दोस्रो र पोखराका कुशल भुर्तेल २ सय ३५ रनसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, आइतबार कर्णालीलाई सान्त्वना जित दिलाउन हुसैन तलत र आरिफुल इस्लामले उत्कृष्ट प्रदर्शन गर्दा दक्षिण अफ्रिकी स्टार डेविड मिलर ५ रनमै समेटिएका थिए।

सर्वाधिक विकेटतर्फ जनकपुरका राहुल यादवको टोली बाहिरिइसकेको भए पनि समान १२-१२ विकेट लिएका चितवनका कमलसिंह ऐरी, रिजन ढकाल र काठमाडौंका जहानदाद खान सँग प्लेअफमा कीर्तिमान तोड्ने अवसर छ।

लिग चरणको अन्त्यतिर देखिएको हाइस्कोरिङ थ्रिलर र प्लेअफका चारवटै टोलीको सन्तुलन हेर्दा मंगलबारदेखि सुरु हुने क्वालिफायर, एलिमिनेटर र फाइनल भिडन्त अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।

कात्तिक ३०, २०८३ सोमबार ०९:०५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।