पोखराका दिनेश खरेलले फ्यानसँग मागे माफी, अर्को सिजन कमब्याक गर्ने वाचा
एजेन्सी : नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाजलाई ५५ रनले पराजित गर्दै सुखद अन्त्य गरेका पोखरा एभेन्जर्सका अलराउन्डर दिनेश खरेलले टोलीको समग्र सिजन निराशाजनक रहे पनि अर्को सिजन बलियो पुनरागमन गर्ने बताएका छन्।
आइतबार रातिको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै खरेलले राम्रो तयारीका बाबजुद केही खेलमा भाग्यले साथ नदिँदा प्लेअफ पुग्न नसक्नु दुःखद रहेको बताए।
उनले पोखरा एभेन्जर्सका समर्थकहरूसँग माफी माग्दै भने, “जसरी यो सिजन गयो, त्यसबाट सबैजना निराश हुनुहुन्छ भन्ने मलाई थाहा छ। यो सिजन सबैका लागि दुर्भाग्यपूर्ण र समर्थकका लागि निकै निराशाजनक रह्यो। म र टिमको तर्फबाट माफी चाहन्छु। तर अर्को सिजन पनि आउँदैछ, हामी अर्को वर्ष अझ राम्रो प्रदर्शन गर्नेछौँ।”
‘सोचेजस्तो अवसर नपाए पनि टिम जित्दा खुसी छु’
काठमाडौंविरुद्धको खेलमा ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिँदै पोखराको जितमा मुख्य भूमिका खेलेका खरेलले यो सिजन व्यक्तिगत रूपमा सोचेजस्तो अवसर नपाएको स्वीकारे।
“टिम कम्बिनेसन र सन्तुलनका कारण मैले सोचेजस्तो अवसर पाउन सकिनँ, व्यक्तिगत रूपमा यो सिजन मैले चाहेजस्तो भएन,” उनले भने, “तर दिनको अन्त्यमा टिमलाई जिताउनु नै सबैभन्दा ठूलो कुरा हो, त्यसैले टिमको जितमा निकै खुसी छु।”
शाकिब र प्रशिक्षक अजन्ताबाट सिकेको कुरा मैदानमा देखिँदै
ड्रेसिङ रुममा विश्वप्रसिद्ध स्टार खेलाडी र प्रशिक्षकसँग समय बिताउन पाउनु निकै फाइदाजनक रहेको खरेलले बताए।
“यो सिजनमा बङ्गलादेशका स्टार शाकिब अल हसन र मुख्य प्रशिक्षक अजन्ता मेन्डिसबाट सिक्न पाउनु हाम्रा लागि निकै ठूलो मौका थियो[1]। शाकिबसँग बिताएको समयमा हामीले धेरै कुरा सिक्यौँ र ती कुराहरू अहिले बिस्तारै मैदानमा देखिन थालेका छन्”, उनले भने।
यस्तै, पोखराका लागि विस्फोटक ब्याटिङ गरिरहेका युवराज सम्राको प्रशंसा गर्दै खरेलले उनलाई ‘अद्भुत खेलाडी’ को संज्ञा दिए। “खेललाई एकदमै सरल (सिम्पल) राखेर खेल्ने सम्राको शैलीबाट हामी सबैले सिक्न सक्छौँ। टी–२० क्रिकेटमा सरल योजनाका साथ अघि बढ्नु नै अहिलेको सबैभन्दा ठूलो सफलता हो,” उनले थपे।
‘एनपीएल झन् ठूलो बन्दैछ, दशौँ राष्ट्रिय पुलिसबाटै खेल्छु’
पहिलो सिजनको तुलनामा तेस्रो सिजनसम्म आइपुग्दा एनपीएलको चर्चा र स्तर निकै माथि उठेको खरेलको बुझाइ छ।
दोस्रो सिजनमा रात्रिकालीन (अन्डर लाइट्स) खेल र तेस्रो सिजनमा आईसीसीको मान्यता पाएसँगै लिग झन् ठूलो बन्दै गएको र नेपाली फ्यानहरूको साथले एनपीएल छिट्टै धेरै माथि पुग्ने उनले विश्वास व्यक्त गरे।
आगामी योजनाबारे सोधिएको प्रश्नमा खरेलले अब करिब १७-१८ दिनपछि सुरु हुने दशौँ राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबबाटै खेल्ने तयारी रहेको जानकारी दिए।
“भर्खरै नेपाल पुलिस क्लबका मन्जित दाइसँग कुरा भएको छ। म अहिले पनि पुलिसकै खेलाडी भएकाले दशौँ राष्ट्रिय खेलकुदमा पुलिसबाटै खेल्छु होला,” उनले भने।
कात्तिक २९, २०८३ आइतबार २२:४२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।