टी-२० विश्वकप ‘ग्लोबल क्वालिफायर’को ढाँचा सार्वजनिक, यसरी छनोट हुनुपर्नेछ नेपाल
एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२८ मा आयोजना हुने पुरुष र महिला टी-२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गरेको छ।
आईसीसीले आइतबार महिला टी-२० विश्वकप २०२८ को छनोट मार्ग निश्चित गर्नुका साथै पुरुष टी-२० विश्वकप २०२८ का लागि नयाँ ‘ग्लोबल क्वालिफायर’को ढाँचा सार्वजनिक गरेको हो।
सन् २०२८ को सुरुवातमा आयोजना हुने पुरुष ग्लोबल क्वालिफायरमा १६ टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा समूह चरण, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल गरी कुल ३१ खेल हुनेछन्। १६ टोलीलाई चार-चार टोलीका दरले चार समूहमा विभाजन गरिनेछ।
यो प्रतियोगिताबाट कुल ८ वटा टोली सिधै सन् २०२८ को पुरुष टी-२० विश्वकपमा छनोट हुनेछन्। सन् २०२६ को विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने चारवटै टोली स्वतः विश्वकपका लागि छनोट हुनेछन्।
अफ्रिका, अमेरिका, एसिया, इस्ट-एसिया प्यासिफिक र युरोपसहितका प्रत्येक क्षेत्रबाट न्यूनतम प्रदर्शनको मापदण्ड पूरा गरी शीर्ष स्थानमा रहने एक-एक टोली विश्वकपमा पुग्नेछन्।
यदि कुनै क्षेत्रको शीर्ष टोली प्रतियोगिताको शीर्ष ८ भित्र पर्न सफल भएमा स्वतः छनोट हुनेछ।
तर, यदि कुनै क्षेत्रको शीर्ष टोली नवौंदेखि १२औं स्थान अर्थात आफ्नो समूहको तेस्रो स्थानमा सीमित भएमा, शीर्ष ८ भित्र परेको तर क्षेत्रीय शीर्ष टोली नरहेको सबैभन्दा तल्लो स्थानको टोलीको सट्टामा उक्त टोली विश्वकपमा छनोट हुनेछ।
यसबाहेक बाँकी रहने स्थानहरूमा क्वार्टरफाइनलमा पराजित टोलीहरूमध्ये समूह चरणको प्रदर्शन, अङ्क, जित संख्या र नेट रनरेटका आधारमा अगाडि रहेका टोलीहरू छनोट हुनेछन्।
आ-आफ्नो समूहको सबैभन्दा पुछार (चौथो स्थान) मा रहने टोलीहरू भने विश्वकप छनोटका लागि अयोग्य मानिनेछन्।
महिला टी-२० विश्वकप २०२८ : आयोजक पाकिस्तानसहित १० टोली सिधै छनोट
आईसीसीले सन् २०२८ को महिला टी-२० विश्वकपका लागि १० टोली सिधै छनोट भएको पनि पुष्टि गरेको छ।
स्वतः छनोट हुने टोलीहरूमा अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, बंगलादेश, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलङ्का, आयरल्यान्ड र आयोजक पाकिस्तान रहेका छन्।
विश्वकपमा बाँकी रहने २ स्थान को छिनोफानो ‘आईसीसी महिला टी-२० विश्वकप क्वालिफायर २०२८’ बाट हुनेछ।
कुल १० टोली सहभागी हुने उक्त छनोट प्रतियोगितामा सन् २०२६ को विश्वकप खेले पनि २०२८ का लागि सिधै छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्कटल्यान्ड ले सोझै स्थान बनाएका छन्।
यी दुई टोलीसँगै सन् २०२७ मा हुने पाँचवटा क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आउने ८ टोली गरी कुल १० टोलीबीच ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ।
उक्त प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले २०२८ को महिला टी-२० विश्वकपमा अन्तिम दुई स्थान पक्का गर्नेछन्।
कात्तिक ३०, २०८३ सोमबार १२:३८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।