आफ्नै चुकले विवादमा झोसिएको ‘पाँच पाण्डव’
भाइ-भाईको चरम प्रेम पनि छ, चरम दुस्मनी पनि। महिलाको त्याग पनि छ अनि प्रतिशोध पनि। सम्पत्तिको लोभ पनि छ अनि उदारता पनि। त्यसैले त महाभारत एउटा यस्तो महाकाव्य हो जहाँ दैवी न्याय, कर्तव्य, सम्बन्ध र विभाजनका भव्य प्लटहरू निकै कुशलताका साथ कोरिएका छन्।
महाभारत एकल पात्र केन्द्रित छैन, कृष्णदेखि अर्जुनसम्म, युधिष्ठिरदेखि सहदेवसम्म। द्रौपदीदेखि राधासम्म, यसमा पात्रहरू बहु आयामिक छन्। तर ती पात्रहरूमध्ये सत्यवान् युधिष्ठिरलाई सर्लक्क स्वर्गलोकबाट अहिलेको नेपालको धमिलो र प्रदूषित राजनीतिक माहौलमा ओराल्ने हो भने उनले कस्तो अनुभव गर्लान्? अनि महाभारतका अन्य पात्रहरू कोही मजदुर त कोही ठगिएका, कोही ठग्ने त कोही न्याय दिने पात्रका रूपमा अहिलेको नेपाली समाजमा भए उनीहरूको स्वरूप र भूमिका कस्तो हुन्थ्यो होला?
यसरी एक लाइनमा सोच्ने हो भने क्या गजब लाग्दैन त यो प्लट? अनि यही प्लटलाई आधार मानेर फिल्म बनाउने हो भने गजब हुन्न त! अझ यसमा समाजमा सम्मानित छवि बनाएका कलाकारै युधिष्ठिर बनिदिए त! यही गजबको प्लटमा निर्देशक वसन्त निरौलाले मुख्य पात्रमा हरिवंश आचार्यलाई लिएर ‘पाँच पाण्डव’ निर्देशन गरे। तर, विडम्बना, रिलिज हुनु अगाडि नै फिल्म धार्मिक र नैतिक विवादको भुमरीमा फस्यो।
फिल्म विवादको भुमरीमा फस्नुको एक कारण धार्मिक पात्रलाई बिम्बका रूपमा प्रयोग गर्दा कल्पनाको प्रयोगै हुनुहुन्न भन्ने अन्धसोच भएकाहरूको भूमिका देखियो। तर जब हलमा फिल्म रिलिज भयो फिल्मबारे यति गम्भीर विवादको मूल कारण ती अन्धसोच मात्र देखिएनन् फिल्मको प्रमोसनमा अपनाइएको झुर रणनीति विवाद रोप्ने मुख्य कारण देखियो।
फिल्मको सुरुवाती प्रचार यो सिधै महाभारतसँग जोडिएको कथा हो जसरी गर्नु, पोस्टरबाट शुरु भएको प्रमोसनमा महाभारतका पात्रको नाम हाबी गराउनु, अनि फिल्ममा हुँदै नभएको पात्रलाई 'यज अ द्रौपदी' भनेर भ्रम छर्नु नै फिल्म पाँच पाण्डव विवादको भुमरीमा फस्नुको मुख्य कारण देखियो।
फिल्मकै टिमबाट पहिला इभालाई द्रौपदी भनेर प्रचार गरियो। अनि फिल्म रिलिज हुनु अगाडि माहोल बनाउन उनै इभा क्यासिनोभित्र नाचेको गीत सार्वजनिक गरियो। अनि द्रौपदीको अपमान गर्ने भन्दै विरोधको आगो सल्कियो। सामाजिक सञ्जालमा बहिष्कारको लहरै चल्यो।
तर, फिल्मको साइनो महाभारतसँग देखिएन। केवल कथाको परिकल्पना अनुसार केही पात्र सापट लिएको खुल्यो। अनि न इभा गिरीको क्यारेक्टरको सम्बन्ध नै द्रौपदीसँग देखियो। तर जसरी इभालाई द्रौपदी भनेर प्रचारको राप फैलाइयो त्यही रूपमा त्यो रूपमा विरोधको आगो निभाउन निर्माण टिम प्रभावकारी हुन सकेन। अभिनेता हरिवंशले नै फिल्म त्यस्तो हैन भनेर सम्झाउने प्रयास गर्दा पनि विरोधमा उत्रिएकाहरू सम्झने मुडमा देखिएनन्।
सबै पक्ष हेर्दा ‘पाँच पाण्डव’लाई विवाद र बहिष्कारसम्मको चरणमा पुर्याउन पेट्रोल जम्मा गर्ने अनि सल्काउन सलाई दिने दुवै काम फिल्मकै टिमबाट भएको देखियो। तर जसरी उनीहरूको गलत रणनीतिले विरोधको आगो बाल्यो त्यसरी मत्थर पार्न भने सफल भएनन्। पहिला धार्मिक पात्रसँग जोडेर प्रचार गरिहाले। त्यही घाँडो भएपछि फिल्म कुनै पौराणिक ग्रन्थको सीधा रूपान्तरण होइन, यो त आधुनिक समाजको अव्यवस्था र विकृति देखाउन क्रियटिभ रूपमा सोचिएको रोचक प्लट हो भनेर सम्झाउनै सकेनन्।
फिल्मको कथा राजन (हरिवंश आचार्य) बाट सुरु हुन्छ। उनलाई सत्यवान् युधिष्ठिरको प्रतीक बनाउँदै आफ्नो स्वर्गलोक रित्तो भएको महसुस गराएर पृथ्वीमा झारिन्छ। त्यसपछि उनी इन्द्रदेवबाट पाएको एउटा दिव्य औँठी बोकेर काँकडभिट्टा नाका हुँदै पृथ्वीलोक (नेपाल) प्रवेश गर्छन्। त्यसपछि उनको भेट हुन्छ संस्थागत भ्रष्टाचार, मजदुरमाथिको शोषण र राजनीतिक बेथितिबाट पिल्सिएका नागरिकहरूसँग। पौराणिक कथाका पात्रहरू आधुनिक नागरिकका दुःखहरूसँग ठोकिन थाल्छन्।
त्यसमा नेपाली राजनीति र शक्तिशाली पात्रहरू नै हल्लाएको भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी जोडिन्छ। ठगिएका पात्र देखिन्छन् महेश (सुशील सिटौला) । अर्का छन् आफ्नै मन्त्री भाइ (प्रशान्त ताम्राकार) को इँटा भट्टामा पसिना बगाइरहेका भीमसेन (जितु नेपाल) र उनकी पत्नी (दीपाश्री निरौला) । राजनको यीनै पात्रहरूसँग भेट हुन्छ। अनि उत्पीडित र सीमान्तकृत मानिसहरूलाई समेटेर अन्यायविरुद्ध लड्ने आधुनिक ‘पाँच भाइ’को टोली खडा हुन्छ। यीनैलाई हेरेर फिल्मको नाम पाँच पाण्डव राखियो।
फिल्मको सबैभन्दा विवादित तर संवेदनशील पात्र इभा गिरीलाई मन्त्रीका भाइको अत्याचारबाट जन्मिएकी छोरी हुर्काउन क्यासिनोमा डान्सरका रूपमा काम गर्न बाध्य भएको महिलाको रूपमा चित्रण गरिएको छ। कथाभित्र उनले क्यासिनोमा नाच्नुसँग कुनै धार्मिक पक्ष जोडिएको छैन, यो त आर्थिक विषमता र विवशताको चित्रणको रूपमा प्रयोग भएको छ।
यहाँ युधिष्ठिरलाई कुनै पहुँचवाला देवताका रूपमा होइन, बरु सस्तो भाइरल पत्रकारिता र भ्रष्ट प्रहरी प्रशासनको जालोभित्र भौँतारिरहेका एउटा निष्ठावान् वृद्धका रूपमा प्रस्तुत गरिएको छ। फिल्म यसरी एकातिर छ। तर रिलिज अगाडि यसको छवि के-के बन्यो बन्यो। यसको कारण फिल्मको विषय, त्यसका पात्र अनि फिल्मको नाम र त्यसमा प्रयोग गरिएको पात्रको समाजमा स्थापित धार्मिक छवि नहेरी प्रचार रणनीति बनाउनु नै देखियो। निर्माण पक्षको सोच र विषयवस्तुका हिसाबले जुन क्रियटिभ कामको खाका बन्यो त्यो रणनीतिगत चुकका कारण ओझेलमा परे। फिल्म रिलिजै हुन्न कि क्या हो भन्ने अवस्थासम्म बन्यो।
अब अभिनयको पक्षबाट हेर्दा फिल्मको मुख्य तागत कलाकार हरिवंश आचार्य नै हुन्। उनले युधिष्ठिरको साङ्केतिक भूमिका संयमित र परिपक्व रूपमा पस्कने प्रयास गरेका छन्। उनलाई पर्दामा देख्दा कुनै सर्वशक्तिमान् भगवानको हैन पीडित वृद्धको पीडा अनुभव हुन्छ। अर्कोतिर, हास्य कलाकारको छवि बनाएका जितु नेपाल र दीपाश्री निरौलालाई गम्भीर र सङ्घर्षशील श्रमजीवीको भूमिकामा उभ्याउनु निर्देशकको सरप्राइज प्याकेज हो। यसमा दीपाश्रीको अभिनय प्रभावकारी लाग्छ। पृष्ठभूमि सङ्गीत र हलबाट निस्किँदा ओठमा झुन्डिने ‘राजा चाहिया छ’ गीतले फिल्मको मुडलाई बलियोसँग साथ दिएका छन्।
फिल्मको कोरियोग्राफीमा समस्या देखियो। छायाङ्कन अनि बिजिएमहरु कमजोर छैनन्, मध्ययम छन्। फिल्ममा प्रयोग भएका गीत असान्दर्भिक छैनन्। सम्पादनलाई अझ कस्ने ठाउँ देखिन्छ।
पाँच पाण्डवको सबैभन्दा ठूलो समस्या यसको पटकथामा देखिन्छ। पहिलो हाफले दर्शकमा कौतुहलता जगाए पनि दोस्रो हाफमा कथा अनावश्यक रूपमा अलमलिएको अनुभव हुन्छ। फरक-फरक पृष्ठभूमि र दुःख भएका मानिसहरू कसरी र किन ‘पाँच पाण्डव’का रूपमा एक ठाउँमा गाँसिए भन्ने तार्किक आधार निर्देशकले स्थापित गर्न सकेका छैनन्।
त्यस्तै, युधिष्ठिरको मुख्य शक्ति नै इन्द्रदेवको जादुई औँठीलाई बनाइनु अर्को कमजोरी हो। औँठीका भरमा लडाइँ जितिने र त्यो औँठी खस्नासाथ शक्ति क्षीण भएर पात्र मारिने घटनाले फिल्मको गम्भीरतालाई घटाएर कथालाई केही बाल सुलभ समान बनाइदिएको छ। मुख्य खलपात्रहरूको चित्रण निकै सतही र परम्परागत छ, जसले गर्दा नायक र खलनायकबिचको द्वन्द्वमा हुनुपर्ने वास्तविक तनाव महसुस हुँदैन।
कथालाई हतार-हतार टुङ्ग्याउन खोज्दा क्लाइमेक्स खुकुलो बनेको छ। पात्रहरू धेरै हुँदा उनीहरूलाई कथाको एकै लयमा, सँगै हिँडाउन निर्देशकलाई भएको सकस हलमा फिल्म हेर्दा दर्शकले अनुभव गर्नसक्ने तहकै छ।
अन्त्यमा, ‘पाँच पाण्डव’ पटकथाको कमजोरी र अस्वाभाविक दृश्यहरूले केही ठाउँमा खिन्न बनाए पनि निर्देशक निरौलाले पौराणिक प्रतीकहरूमार्फत वर्तमान सत्ता र विकृतिमाथि व्यङ्ग्य गर्ने प्रयास गरेका छन्। जसले 'हाम्रो द्रौपदीलाई क्यासिनोमा नचाउने' भनेर विरोध गरे उनीहरूले फिल्म हेर्ने हो भने 'हत्तेरी फिल्ममा हुँदै नभएको विषयबारे पो विरोध गरिएछ' भन्ने पक्कै अनुभव हुनेछ।
कात्तिक २३, २०८३ सोमबार २०:५३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।