सारथीको पोस्टरमा निरुता हाबी, उत्तम प्रधानले गर्दैछन् कमब्याक

सारथीको पोस्टरमा निरुता हाबी, उत्तम प्रधानले गर्दैछन् कमब्याक

काठमाडौं : टिजरबाटै हाइप बनाउँदै गएको फिल्म ‘सारथि’को निर्माण टिमले फिल्म प्रचारकोक्रममा मुख्य अभिनेत्री निरुता सिंहलाई प्राथमिकता दिइएको अफिसियल पोस्टर सार्वजनिक गरेको छ। 

कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म मंसिर ११ गते रिलिज हुँदैछ। शुक्रवार सार्वजनिक भएको पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई स्थान दिइएको छ।

फिल्मको सार्वजनिक भएको टिजर र गीतले निरुता र उत्तम प्रधान मुख्य भूमिकामा रहेको देखाएको छ। फिल्मको कथा आमा छोराको सम्बन्धमा आधारित रहेको प्रचार सामग्रीले संकेत गरेको छ। फिल्ममा गिरि विश्वकर्मा र गायत्री जोशीले डेब्यु गर्दैछन्। 

फिल्मको पोस्टरमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी लगायतका कलाकार देखिएका छन्। यसमा कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मि गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। चलचित्रको लाइन प्रोड्युसर अमिर केसी छन्।

फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतकार प्रशान्त शिवाकोटी हुन्। 

कात्तिक २७, २०८३ शुक्रबार १८:०९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।