कुकुरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना, चालकको मृत्यु
नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६, नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटकै पञ्चकन्या गाउँपालिका-४ निवासी करिब ५५ वर्षीय नारायण कार्की रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार राति करिब ९:३० बजे गोल्फुभञ्ज्याङ-ढिकुरे सडक खण्डअन्तर्गत दुप्चेश्वरबाट सातबिसेतर्फ जाँदै गरेको बा ५२ प १३०४ नम्बरको मोटरसाइकल बाटो हिँडिरहेको कुकुरसँग ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा कुकुरलाई भने केही नभएको बताइएको छ।
दुर्घटनामा बायाँ कानमा चोट लागी गम्भीर घाइते भएका चालक कार्कीलाई तत्काल उपचारका लागि काठमाडौंतर्फ पठाइएको थियो।
तर, आज बिहान ५:३० बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुर्याउँदा चिकित्सकले उनको बाटोमै मृत्यु भइसकेको जानकारी गराएका छन्। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
घटनाबारे आज बिहान ४:०० बजे खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट प्रहरी सहायक निरीक्षक सुदीप श्रेष्ठको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी चौकी समुन्द्रटारबाट करिब तीन किलोमिटर पश्चिममा पर्ने उक्त घटनास्थलमै दुर्घटनाग्रस्त मोटरसाइकल रहेको प्रहरीले जनाएको छ।
कात्तिक २८, २०८३ शनिबार १३:१७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।