९९ रनमा आउट गरेका करण भन्छन्- नेपालका लागि कुशल फर्ममा आउन जरुरी थियो

९९ रनमा आउट गरेका करण भन्छन्- नेपालका लागि कुशल फर्ममा आउन जरुरी थियो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएसँगै सिधै क्वालिफायर-१ खेल्ने मौका गुमाएका काठमाडौँ गोर्खाजका कप्तान करण केसीले अब टोलीले ‘लामो बाटो’ बाटै फाइनलको यात्रा तय गर्नुपर्ने बताएका छन्।

आइतबार रातिको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै केसीले लिग चरणको हार बिर्सिएर अब इलिमिनेटरमा चितवन राइनोजविरुद्धको खेलमा केन्द्रित हुने बताए।

क्वालिफायर-१ को अवसर गुमेकोबारे उनले भने, “सर्टकट जाने भनेको थियौँ, अब लामो बाटो जानुपर्यो। आजको दिन हाम्रो पक्षमा रहेन। तर लिग चरणमा हामीले चितवनलाई जितिसकेका छौँ, त्यसैले टिमको माहोल एकदमै सकारात्मक छ। अर्को खेलमा शतप्रतिशत प्रयास गर्नेछौँ।”

‘कुशल र सम्राको साझेदारी धेरै भारी पर्यो’
पोखराका कुशल भुर्तेल र युवराज सम्राबीचको विशाल साझेदारी काठमाडौंका लागि ‘धेरै भारी परेको’ केसीले स्वीकार गरे। “यो पिचमा जसरी उनीहरूले ब्याटिङ गरे, त्यो अद्भुत थियो। १८०-१९० रनसम्म रोकिएको भए लक्ष्य पछ्याउन सकिन्थ्यो होला”, उनले भने।

आफैँले कुशल भुर्तेललाई ९९ रनमा आउट गर्दा कस्तो महसुस भयो भन्ने प्रश्नमा करणले रोचक जवाफ दिए।

“मेरो लक्ष्य त आउट गर्ने नै थियो, त्यसैले विकेट लिँदा खुसी लाग्यो। तर ९९ रनमा आउट हुँदा म आफैँ ब्याटर भएको भए मलाई पनि नराम्रो लाग्थ्यो होला,” करणले भने, “जे होस्, कुशलले जसरी खेले त्यो नेपाली क्रिकेटकै लागि राम्रो हो। आगामी प्रतियोगिताहरूका लागि कुशल लयमा फर्कनु निकै जरुरी थियो।”

‘ब्याटर टिके भने पिचमा रन बन्छ’
कीर्तिपुरको पिचबारे बोल्दै केसीले नयाँ ब्याटरलाई सुरुमै घुलमिल हुन गाह्रो भए पनि ४०-५० बल क्रिजमा टिकेर खेले रन बन्ने आजको खेलले देखाएको बताए।

काठमाडौँको ब्याटिङमा १० ओभरसम्मको योजनाअनुसार रन नबन्दा अन्तिमतिर दबाब परेको र बलिङमा पनि केही गल्ती तथा अवसरहरू गुमेको उनले बताए। यद्यपि, केही ब्याटरले राम्रो प्रदर्शन गर्नु टोलीका लागि सकारात्मक पक्ष रहेको उनको भनाइ थियो।

डेभिड वार्नर आउने हल्लाबारे के भने ?
सामाजिक सञ्जालमा अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर काठमाडौँ गोर्खाजमा आउने चर्चाबारे सोधिएको प्रश्नमा करणले अहिलेसम्म त्यस्तो आधिकारिक जानकारी नरहेको प्रस्ट पारे।

“अहिलेसम्म केही पक्का भइसकेको छैन। यदि उहाँ मान्नुभयो र आउनुभयो भने त हामी निकै खुसी नै हुन्छौँ, तर आधिकारिक खबर चाहिँ केही छैन,” केसीले मुस्कुराउँदै भने।

कात्तिक २९, २०८३ आइतबार २२:१४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।