एनपीएलमा सकियो लिग चरणका खेल : कीर्तिमानी रातमा पोखराको ५५ रनको सानदार जित, तोडिए एकसाथ ठूला रेकर्ड

एनपीएलमा सकियो लिग चरणका खेल : कीर्तिमानी रातमा पोखराको ५५ रनको सानदार जित, तोडिए एकसाथ ठूला रेकर्ड

कीर्तिपुर : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै कीर्तिमानी जित निकालेको छ।

यो जितसँगै प्लेअफ समीकरणसमेत पूरा भएको छ भने यो खेल एनपीएल इतिहासकै सर्वाधिक रन बनेको र कीर्तिमानहरूको वर्षा भएको खेल बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार राति सम्पन्न खेलमा पोखराले दिएको २२५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाज १९.५ ओभरमा १६९ रनमै अलआउट भयो।

यो हारसँगै काठमाडौंले लिग तालिकाको दोस्रो स्थानमा उक्लिँदै सिधै क्वालिफायर-१ खेल्ने अवसर गुमाएको छ।

अब क्वालिफायर-१ मा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने तेस्रो स्थानको काठमाडौं गोर्खाजले चौथो स्थानको चितवन राइनोजसँग इलिमिनेटर खेल्नेछ।

खेलमा बनेका प्रमुख कीर्तिमानहरू
एनपीएल इतिहासकै सर्वाधिक ठूलो टिम योगफल

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।

यो एनपीएलका तीनवटै सिजनको इतिहासमा कुनै पनि टोलीले बनाएको सर्वाधिक ठूलो स्कोर हो। यसअघि यो कीर्तिमान विराटनगर किङ्सको नाममा थियो, जसले अघिल्लो सिजन (सन् २०२५) मा पोखराविरुद्ध नै २२०/६ रन बनाएको थियो।

पोखराले यसै सिजन कर्णाली याक्सविरुद्ध बनाएको २१७/३ रनको स्कोर तेस्रो स्थानमा झरेको छ। यससँगै पोखरा एनपीएलमा तीन-पटक २०० रनको आँकडा पार गर्ने एक मात्र पहिलो टोली बनेको छ। उसले सन् २०२५ मा २०१/२ तथा सन् २०२६ मै २१७/३ र २२४/३ रन बनाएको थियो।

एनपीएल इतिहासकै सर्वाधिक रन बनेको खेल (३९३ रन)
यस खेलमा पोखराको २२४ र काठमाडौंको १६९ गरी कुल ३९३ रन बनाए, जुन एनपीएल इतिहासकै एकै खेलमा बनेको सर्वाधिक कुल रन हो। यसअघि सन् २०२५ मा विराटनगर (२२०) र पोखरा (१६७) बीचको खेलमा कुल ३८७ रन बनेको कीर्तिमान थियो।

एनपीएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी
पोखराका कुशल भुर्तेल र क्यानडियन ओपनर युवराज सम्राले दोस्रो विकेटका लागि ९६ बलमै १८६ रनको विस्फोटक साझेदारी गर्दै एनपीएल इतिहासकै कुनै पनि विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान रचे।

यसअघि सन् २०२४ मा पोखराकै एन्ड्रिज गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए। साथै, भुर्तेल र सम्राले यसै सिजन कर्णालीविरुद्ध दोस्रो विकेटका लागि बनाएको १३६ रनको आफ्नै कीर्तिमानसमेत भङ्ग गरे।

नेपाली खेलाडीको सर्वाधिक स्कोर र ९९ रनको संयोग
कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। यो एनपीएल इतिहासमा कुनै पनि नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो।

यसअघि यो कीर्तिमान रोहित पौडेलको नाममा (सन् २०२४ मा पोखराविरुद्ध ९५ रन) थियो। शतकबाट १ रनले चुकेका भुर्तेल एनपीएलमा ९९ रनमा आउट हुने पहिलो ब्याटरसमेत बने।

ब्याटिङसँगै फिल्डिङमा पनि भुर्तेलको कमाल
९९ रनको पारी खेलेका भुर्तेलले फिल्डिङतर्फ पनि ४ क्याच लिँदै सानदार प्रदर्शन गरे। एनपीएलको एकै इनिङ्समा अनिल शाहको ५ क्याचपछिको उत्कृष्ट फिल्डिङमध्ये यो एक हो।

त्यस्तै, यस इनिङ्सपछि युवराज सम्रा ४ खेलमा २९४ रन र कुशल भुर्तेल ७ खेलमा २३५ रन गरी सिजन-३ को सर्वाधिक रन बनाउने ब्याटरहरूको शीर्ष तीनमा उक्लिएका छन्।

पोखराको विस्फोटक ब्याटिङ
ओपनर अर्जुन कुमाल २.२ ओभरमा ५ रन बनाएर आउट हुँदा पोखरा १७/१ को अवस्थामा थियो।

त्यसपछि क्रिजमा जमेका युवराज सम्रा र कुशल भुर्तेलले काठमाडौंका बलरमाथि चौका र छक्काको वर्षा गरे। सम्राले २६ बलमा र भुर्तेलले २७ बलमा अर्धशतक पूरा गरेका थिए। सम्रा ५५ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन बनाएर आउट भए।

अन्त्यतिर कप्तान चामिका करुणारत्नेले ७ बलमै १ चौका र २ छक्कासहित अविजित १९ रन तथा धनञ्जय लक्षणले अविजित २ रन जोडे। पोखराको इनिङ्समा कुल १५ छक्का र १८ चौका प्रहार भयो।

बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले ४ ओभरमा ३४ रन खर्चेर भुर्तेल र सम्रा दुवैको विकेट लिए भने जहान्दाद खानले १ विकेट हात पारे। राशिद खानले ४ ओभरमा ५५ रन खर्चिए।

काठमाडौंको जवाफी ब्याटिङ र पोखराको कसिलो बलिङ
२२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले सुरुवाती विकेट गुमाए पनि साहिल पटेल (३४), विलियम बोसिस्टो (२६), राशिद खान (३१) र जहान्दाद खान (२४) ले केही आक्रामक प्रयास गरेका थिए।

तर, मध्यक्रम र तल्लो क्रमका कप्तान करण केसी (०) र सन्तोष यादव (०) लगायतका ब्याटरहरू टिक्न नसक्दा काठमाडौं १५.४ ओभरमा १३७/७ को अवस्थामा पुग्यो।

अन्त्यतिर टी-२० क्रिकेटमा डेब्यु गरेका सोनु देवकोटाले १४ बलमा ४ छक्कासहित २९ रनको आक्रामक पारी खेले पनि हार टार्न सकेनन्।

पोखराको जितमा बलिङतर्फ दिनेश खरेल नायक बने। उनले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए।

यस्तै, बिपिन खत्रीले ४ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे। रमेश मेन्डिस र युवराज सम्राले १–१ विकेट लिँदा सन्नी बीकेले १ ओभर बलिङ गर्दै १ मेडनसहित बिना कुनै रन १ विकेट हात पारे।

लिग चरणपछिको अन्तिम स्थिति र प्लेअफ समीकरण
आठ टोली सहभागी लिग चरणका २८ वटै खेल आइतबार रातिबाट सकिएका छन्।

काठमाडौंमाथिको ५५ रनको फराकिलो जितसँगै पोखराले ४ अङ्क जोड्दै नेट रनरेटमा साविक उपविजेतासमेत रहिसकेको जनकपुर बोल्ट्सलाई उछिनेर सातौँ स्थान मा रहेर सिजनको सुखद अन्त्य गरेको छ। जनकपुर भने आठौँ स्थानमा झरेको छ।

अब मङ्गलबार हुने क्वालिफायर-१ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। बुधबार हुने इलिमिनेटर मा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्।

क्वालिफायर-१ को विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग बिहीबार (नोभेम्बर १९) क्वालिफायर-२ खेल्नेछ। प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

कात्तिक २९, २०८३ आइतबार २१:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।