तिनाउ घाटमा छठको रौनक : उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आस्थाको पर्व समापन (फोटो फिचर)

तिनाउ घाटमा छठको रौनक : उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आस्थाको पर्व समापन (फोटो फिचर)

बुटवल : उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, भक्ति र लोकआस्थाको महापर्व छठ आज बुटवलमा हर्षोल्लासका साथ सम्पन्न भएको छ।

पर्वको अन्तिम दिन आज बिहानैदेखि बुटवलस्थित तिनाउ नदी किनारको छठी घाटमा श्रद्धालु तथा व्रतालुहरूको बाक्लो घुइँचो लागेको थियो।

रातभर नदी किनारमा जाग्राम बसेका व्रतालुहरूले बिहान सूर्योदय हुनासाथ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

श्रद्धालुहरूले बाँसका ढाकी, नाङ्लो तथा पूजा थालीमा फलफूल, ठेकुवा, भुसुवा, उखु, नरिवल लगायतका परिकार सजाएर विधिपूर्वक सूर्यदेव र छठी माताको पूजाआजा गरेका थिए।

बिहानीपखदेखि नै तिनाउ घाट भक्तिमय वातावरण, शङ्खध्वनि र मन्त्रोच्चारणले गुञ्जायमान बनेको थियो। परिवारका सदस्य, आफन्त तथा विभिन्न समुदायका मानिसहरूको उल्लेख्य सहभागिताले घाटको दृश्य निकै आकर्षक र सद्भावपूर्ण देखिएको थियो।

अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वले प्रकृति, सूर्य र जलप्रतिको सम्मानसँगै पारिवारिक एकता, सामाजिक मेलमिलाप र सामुदायिक सद्भावको सन्देश दिएको छ।

कात्तिक ३०, २०८३ सोमबार ०७:५२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।