मनोहरा फाँटमा धान भित्र्याउने चटारो
काठमाडौं : दशैँ पर्व सकिएसँगै चाँगुनारायणस्थित मनोहरा खोला किनारको फाँटमा स्थानीय किसान धान भित्र्याउन व्यस्त छन्। मनसुन समाप्ति लगत्तै हुनसक्ने वर्षाको जोखिमका कारण काठमाडौँ उपत्यकाका किसानहरू पाकेको धानबाली समयमै भित्र्याउन हतारिएका छन्।
अहिले धान काट्ने मुख्य समय हो। चाँगुनारायण क्षेत्रका किसानहरू पाकेर पहेँलपुर भएको धान काटेर मेसिनको सहायताले धान झारेर घरमा भित्र्याइरहेका छन्।

मनोहरा खोला किनार आसपास सिँचाइको समस्या नहुने भएकाले यो क्षेत्र धान तथा अन्य नगदे खेतीका लागि उपयुक्त मानिन्छ।
यसैबीच, बङ्गालको खाडीमा विकसित भई भारत हुँदै नेपालतर्फ आउँदै गरेको 'अर्नब' चक्रवातका कारण बिहीबार बेलुकादेखि शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।
वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले किसानहरूलाई मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कामको योजना बनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
तर चक्रवात् अगाडि नै खेतमा पाकेका धान घरमा थन्काउन मनोहरा फाँटका किसान जस्तै देशभरका किसान अहिले खेतमा ब्यस्त छन्।

कात्तिक १०, २०८३ मंगलबार १९:०८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।