बादलमाथि झुलेको धानबाली (फोटो कथा)
नुवाकोट : कात्तिकको पारिलो घाम, सफा नीलो आकाश र तल त्रिशूली नदीलाई ढाकेको सेतो कुहिरो। यही प्राकृतिक दृश्यका बीच नुवाकोटको विदुर नगरपालिका-७ स्थित महादेव खर्क हरियोबाट पहेँलो बन्दै झुलेका धानका बालाले यतिबेला निकै मनमोहक देखिएको छ।

समुद्री सतहबाट करिब १४ सय मिटरको उचाइमा रहेको यस बस्तीका किसानलाई अहिले वर्षभरिको मिहिनेत- पाकेर पहेँलपुर भएको धानबाली भित्र्याउने चटारो छ। तिहारको उमङ्गसँगै गराभरि धानका बाला झुलेर आकर्षक बनेको खेतमा वर्षभरिको मिहिनेत पाकेसँगै किसानहरू बाली काट्ने, घाममा सुकाउने र दाइँ गरेर भण्डारण गर्ने काममा व्यस्त छन्।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले तटीय क्षेत्रका उर्वर खेतहरू बगाएर बगरमा परिणत गरिदिएको थियो। नदी किनारका किसानले बाढीका कारण ठूलो क्षति र पीडा बेहोर्नुपरे पनि, नदीभन्दा निकै माथिल्लो भेगमा रहेको महादेव खर्कका खेत गराहरूमा धान लटरम्म पाकेर झुलेका छन्।

बिहानीपख तल उपत्यका हुस्सु र कुहिरोले ढाकिँदा महादेव खर्क भने घामको किरणसँगै उज्यालिन्छ। त्यही घाममा चम्किएको पहेँलो धान र खेतमा जुटेका किसानको सक्रियताले अहिले ग्रामीण परिवेशलाई जीवन्त बनाएको छ।
गाउँघरमा धान काट्ने र थन्क्याउने काम एक्लै सम्भव नहुने भएकाले यहाँका महिला तथा पुरुष किसानहरू आपसमा ‘अर्मपर्म’ (पर्म) गरेर खेतमा जुटेका छन्।



कात्तिक २४, २०८३ मंगलबार १०:०१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।