कीर्तिपुरमा कीर्तिमानको वर्षा : पोखराले बनायो एनपीएल इतिहासकै सर्वाधिक रन, भुर्तेल-सम्राको १८६ रनको साझेदारी

कीर्तिपुरमा कीर्तिमानको वर्षा : पोखराले बनायो एनपीएल इतिहासकै सर्वाधिक रन, भुर्तेल-सम्राको १८६ रनको साझेदारी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार जारी खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध कीर्तिमानै कीर्तिमान बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल खडा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २२४ रन बनाउँदै काठमाडौंलाई २२५ रनको विशाल लक्ष्य दिएको हो।

पोखराको यो विस्फोटक इनिङ्समा एनपीएल इतिहासका एकसाथ धेरै ठूला कीर्तिमानहरू भङ्ग भएका छन्।

एनपीएल इतिहासकै सर्वाधिक ठूलो टिम स्कोर
पोखराले बनाएको २२४/३ को योगफल एनपीएलका तीनवटै सिजनको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो टिम स्कोर हो। यसअघि यो कीर्तिमान विराटनगर किङ्सको नाममा थियो, जसले अघिल्लो सिजनमा पोखराविरुद्ध नै २२०/६ रन बनाएको थियो।

त्यस्तै, पोखराले यसै सिजन कर्णाली याक्सविरुद्ध बनाएको २१७/३ रनको स्कोर तेस्रो स्थानमा झरेको छ। यससँगै पोखरा एनपीएल इतिहासमा तीनपटक २०० रनको आँकडा पार गर्ने टोली बनेको छ। उसले दोस्रो संस्करणमा २०१/२ तथा जारी संस्करणमै २१७/३ र २२४/३ बनाएको छ।

एनपीएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी
पोखराका कुशल भुर्तेल र क्यानडियन ओपनर युवराज सम्राले दोस्रो विकेटका लागि ९६ बलमै १८६ रनको विस्फोटक साझेदारी गर्दै एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान रचेका छन्।

यसअघि कुनै पनि विकेटका लागि सर्वाधिक साझेदारीको कीर्तिमान पोखराकै एन्ड्रिज गौस र दिनेश खरेलको नाममा थियो। पहिलो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि उनीहरूले अविजित १७६ रन बनाएका थिए।

साथै, भुर्तेल र सम्राले यसै सिजन कर्णाली याक्सविरुद्ध दोस्रो विकेटका लागि बनाएको १३६ रनको आफ्नै कीर्तिमान पनि तोडेका छन्।

नेपाली खेलाडीद्वारा सर्वाधिक व्यक्तिगत स्कोर
पोखराका लागि तुफानी ब्याटिङ गरेका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। यो एनपीएल इतिहासमा कुनै पनि नेपाली ब्याटरले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो।

यसअघि नेपाली खेलाडीका तर्फबाट सर्वाधिक स्कोर लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको नाममा थियो, जसले सन् २०२४ मा पोखराविरुद्ध ९५ रन बनाएका थिए।

शतकबाट मात्र १ रनले चुकेका भुर्तेल एनपीएल इतिहासमा ९९ रनमा आउट हुने पहिलो खेलाडीसमेत बनेका छन्। समग्र एनपीएल इतिहासमा भने चार विदेशी शतकधारी मार्क वाट, एडम रोसिङ्टन, एन्ड्रिज गौस र युवराज सम्रापछि भुर्तेलको ९९ रन पाँचौं उच्च व्यक्तिगत स्कोर हो।

इनिङ्सको झलक
ओपनर अर्जुन कुमाल २.२ ओभरमा ५ रन बनाएर आउट हुँदा पोखराको स्कोर १७ रन मात्र थियो। त्यसपछि क्रिजमा जमेका सम्रा र भुर्तेलले काठमाडौंका बलरमाथि चौका र छक्काको वर्षा गरे।

सम्राले २६ बलमा र भुर्तेलले २७ बलमा आ-आफ्नो अर्धशतक पूरा गरेका थिए। सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन बनाए।

१८.२ ओभरमा भुर्तेल र १८.५ ओभरमा सम्रा आउट भएपछि अन्तिमतिर कप्तान चामिका करुणारत्नेले ७ बलमै १ चौका र २ छक्कासहित अविजित १९ रन तथा धनञ्जय लक्षणले अविजित २ रन जोड्दै टोलीलाई २२४ रनसम्म पुर्याए। पोखराको इनिङ्समा कुल १५ छक्का र १८ चौका प्रहार भयो।

बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा ३४ रन खर्चेर भुर्तेल र सम्रा दुवैको विकेट लिए भने जहान्दाद खानले ४ ओभरमा ४७ रन दिएर १ विकेट हात पारे। राशिद खानले ४ ओभरमा ५५ रन खर्चे पनि विकेट लिन सकेनन्। यसै खेलमार्फत काठमाडौंका सोनु देवकोटाले टी-२० क्रिकेटमा डेब्यु गरेका छन्।

कात्तिक २९, २०८३ आइतबार १८:५६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।