चाबहिलमा शंकास्पद मोटरसाइकल जाँच गर्दा चोरीको खुलेपछि तीन जना पक्राउ
काठमाडौं : काठमाडौंको चाबहिल र सुन्दरीजल भद्रबास क्षेत्रबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।
शुक्रबार राति काठमाडौंको चाबहिलमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शंकास्पद लागेको बा ८४ प ५४८४ नम्बरको सेतो-कालो एनएस मोटरसाइकलसहित मोटरसाइकलमा सवार जुगल गाउँपालिकाका २१ वर्षीय तेन्जिङ लामा र लाक्पा शेर्पालाई नियन्त्रणमा लियो।
प्रारम्भिक सोधपुछका क्रममा उक्त मोटरसाइकल चोरीको भएको र बिक्री गर्ने व्यक्ति समीर तामाङ रहेको खुलेपछि प्रहरीले उनको खोजी गर्यो। भोलिपल्ट शनिबार सुन्दरीजल भद्रबासबाट जुगल गाउँपालिकाकै २८ वर्षीय ‘दशलाल’ भनिने समीर तामाङलाई पनि पक्राउ गर्यो।
प्रहरीले उनीहरूको साथबाट एनएस मोटरसाइकलसहित बा प्र ०२-०३० प ८४७५ नम्बरको एनटर्क स्कुटर र प्रदेश ३-०२-००७ प ८२७५ तथा बा ३२ प ४५६० नम्बर उल्लेखित दुई थान नम्बर प्लेटसमेत बरामद गरेको छ। त्यस्तै सवारी दर्ता किताब एक थान, टुल बक्स एक थान, टुलकिट १३ थान र चार थान मोबाइलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाकारी दिए।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २९, २०८३ आइतबार २२:२३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।