अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ (तस्बिरहरू)
काठमाडौं : लोकआस्थाको महापर्व छठको अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्यदेवको आराधना तथा उपासना गरिएको छ। कार्तिक शुक्ल षष्ठीका दिन निराहार उपवास बसेका व्रतालुहरूले जलाशयमा उभिएर सूर्यलाई अर्घ्य अर्पण गरी छठको मुख्य पूजा सम्पन्न गरेका हुन्।

काठमाडौंको गुहेश्वरी-गौरीघाटस्थित बागमती नदीको किनारमा अस्ताउँदो सूर्यको उपासना गर्न व्रतालु तथा श्रद्धालुहरूको भीड लागेको थियो। छठका लागि सिँगारिएको काठमाडौं उपत्यकाका नदी किनारमा झिलिमिली बत्ती, सजाइएका घाट र छठीमाईको महिमा गान गरिएका मङ्गलधुनले वातावरण भक्तिमय बनेको थियो।

व्रतालुहरू सूर्यास्तको समय पर्खँदै पानीमा उभिएर अस्ताउँदो सूर्यको दर्शन र प्रार्थनामा लीन देखिन्थे। यसरी परिवारको सुख, सन्तानको कल्याण, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिने क्रममा व्रतालुहरूले हातमा जटासहितको नरिवल, अबिर र अरबा चामलको पिठो लिएर सूर्यदेवको पूजा गरेका थिए।

साथै, छठका लागि विशेष रूपमा तयार पारिएका ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार, केरा र अन्य मौसमी फलफूलका डालीहरू सूर्यलाई देखाइएको थियो। तराई-मधेसका विभिन्न जिल्ला र काठमाडौं उपत्यकाका विभिन्न नदी, खोला र पोखरीहरूमा समेत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरूको उपस्थिति रहने गर्छ।

चार दिनसम्म मनाइने छठ पर्व सप्तमीका दिन बिहानै पुनः जलाशयमा पसेर उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि विधिवत् रूपमा सम्पन्न हुनेछ। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि कतिपय व्रतालुहरू घाटमै रातभर जाग्राम पनि बस्नेछन्।








कात्तिक २९, २०८३ आइतबार १९:०४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।