घेराबन्दी र षड्यन्त्रले कांग्रेस कमजोर हुँदैन, सरकार चुके चुप बस्दैनौं : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनको जिम्मेवारी पाए पनि सरकार सही ढंगले नचले देशले दुःख पाउने बताएका छन्। छठ पर्व मनाउन निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका थापाले निर्वाचनको जनादेशअनुसार कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट पारे।
सरकार सञ्चालनमा कमजोरी देखिए प्रमुख प्रतिपक्षको हैसियतमा कांग्रेसको पनि विशेष जिम्मेवारी रहने उनको भनाइ छ। "निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ," थापाले भने, "तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ। ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ।"
कहिले सरकारमा त कहिले बाहिर रहनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको भन्दै थापाले कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए। चार वर्षपछि पुनः निर्वाचन आउने स्मरण गराउँदै उनले पाँच वर्षको समय पूर्ण रूपमा सदुपयोग गर्न सरकारलाई सुझाव दिए।
थापाले भने, "हाम्रो मुख्य चिन्ता फेरि देशले दुःख नपाओस् भन्ने हो। फेरि देशको समय खेर नजाओस् भन्ने चिन्ता हाम्रो हो।" घेराबन्दी र षड्यन्त्रले कांग्रेसलाई कमजोर बनाउन नसक्ने भन्दै उनले विगतमा पनि यस्ता चुनौती धेरै पटक आए-गएको बताए। अहिलेका चुनौतीहरूलाई पनि चिरेर अघि बढ्ने सामर्थ्य पार्टीसँग रहेको उनको भनाइ थियो।
थापाले भने, "तपाईंले बाहिर सुन्नुहुन्छ, घेराबन्दी हुन्छ, षड्यन्त्र हुन्छ। हामी ती सबैलाई चिरेर गइहाल्छौं, कुनै ठूलो कुरा छैन। त्यो आउँछ, जान्छ। त्यसको तागत राख्छौं, हामी। धेरै पटक आए, गए। हामी चिरेर जान्छौं, त्यो ठूलो कुरा छैन।"
कात्तिक २९, २०८३ आइतबार १८:१३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।