म्याग्दीमा लुकाएर राखिएका चार थान अवैध भरुवा बन्दुक बरामद
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-५ देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय दरवाङको टोलीले आइतबार इजाजत नभएका बन्दुक बरामद गरेको हो।
बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए। उनका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत खोजी गरी बन्दुक बरामद गरिएको थियो।
गत मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १६५ थान इजाजत नभएका बन्दुक बरामद भएको छ। ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकारीका साथै आपसी विवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ। स्थानीयवासीको सूचना तथा सहयोगमा जङ्गल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर, गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको उनले जानकारी दिए।
प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ। प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ।
कात्तिक २९, २०८३ आइतबार २१:२५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।