विश्वका शीर्ष टिमसँग भिड्न नेपालको पिच सुधार्नै पर्छ : सिकन्दर रजा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्ससँगको लिग चरणको अन्तिम खेलमा पराजित भए पनि प्लेअफ (इलिमिनेटर)मा पुगिसकेको चितवन राइनोजका कप्तान सिकन्दर राजाले नेपालको क्रिकेट पिच (विकेट) सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै जिम्बाब्वेका स्टार अलराउन्डर राजाले नेपालले विश्वका शीर्ष टोलीहरूसँग साँचो अर्थमा प्रतिस्पर्धा गर्ने हो भने ब्याटिङका लागि अझ राम्रा पिच बनाउनुपर्ने बताए।
उनले यस विषयमा ‘पारस’ सँग पनि कुराकानी भएको खुलाउँदै भने, “अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङका लागि राम्रा र ‘ट्रु’ पिच हुन्छन्। नेपाली खेलाडीले अर्को स्तरमा पुग्न २०० रन बनाउन र बलरहरूले १८०/२०० रन जोगाउन सिक्नुपर्छ। यो फ्रेन्चाइज लिगको मात्र होइन, नेपाली राष्ट्रिय टिमकै भविष्यको कुरा हो।”
राम्रा पिचमा खेल्दा बलरहरूको कौशल बढ्ने र ब्याटरहरूको आत्मविश्वास पनि उच्च हुने उनको भनाइ थियो। उनले एलबीडब्लू र बोल्ड हुनुभन्दा दर्शकले चौका र छक्का हेर्दा खेल अझ मनोरञ्जनात्मक हुने बताए।
‘रञ्जित २ वर्षभित्र नेपालबाट खेल्छन्’
यस सिजन प्रभावित पार्ने युवा खेलाडीको नाम लिन आग्रह गर्दा सिकन्दर राजाले चितवनकै युवा बलर रञ्जित कुमारको प्रशंसा गरे।
“रञ्जित निकै प्रतिभावान् छन्। यदि उनलाई सही मार्गदर्शन (मेन्टरसिप) मिल्यो भने म दाबाका साथ भन्छु- उनी अबको दुई वर्षभित्र नेपालको राष्ट्रिय टोलीबाट खेल्नेछन्”, राजाले भने।
प्लेअफका केही खेल गुमाउने खुलासा
प्लेअफमा आफू उपलब्ध नहुने हल्लाबारे सोधिएको प्रश्नमा राजाले मुस्कुराउँदै भने, “म केही खेलहरू गुमाउनेछु, तर कुन खेल भन्ने अहिले नै भन्न सक्दिनँ।”
आजको खेलमा टोलीमा धेरै परिवर्तन गर्नुको कारण प्रस्ट्याउँदै उनले ठूलो स्क्वाडमा रहेका अन्य खेलाडीको क्षमता परीक्षण गर्न र इलिमिनेटरका लागि उत्कृष्ट ११ छनोट गर्न अवसर दिइएको बताए।
स्पिनरलाई मद्दत पुग्ने पिचमा पनि तीव्र गतिका बलरद्वय कमल ऐरी र रिजन ढकालले साझेदारीमा उत्कृष्ट बलिङ गरेको भन्दै उनले दुवैको प्रशंसा गरे। चितवन राइनोजको उद्देश्य नै नेपाली क्रिकेटका लागि नयाँ प्रतिभा खोज्नु र अवसर दिनु रहेको उनको भनाइ थियो।
यस्तै, उसामा मिरको एनओसीको विषय व्यवस्थापनले समाधान गरेकै कारण उनी मैदान उत्रिन पाएको उनले स्पष्ट पारे।
८ हजार टी-२० रनको रहस्य र नेपाली फ्यानको माया
करिब ८ हजार टी-२० रनको कीर्तिमानबारे सोधिएको प्रश्नमा राजाले ठट्टा गर्दै भने, “नेपालमै खेलेको भए सायद म ८ हजार रनमा पुग्ने थिइनँ होला, किनकि अहिले मलाई यहाँ एक रन जोड्न पनि मुस्किल भइरहेको छ!”
तर, गम्भीर हुँदै उनले सफलताको कुनै गोप्य सूत्र नभएको बताए।
“मैले आफ्नो क्रिकेट र अभ्यासमा कहिल्यै बेइमानी गरिनँ। करिब ३५० खेलमध्ये ५०-६० खेलमा मात्र म सफल भएको छु, धेरैजसो खेलमा असफल नै भएको छु। तर जहिले पनि देश वा फ्रेन्चाइजको जर्सी लगाउँछु, पूरै मन लगाएर शतप्रतिशत दिन्छु”, उनले भने।
नेपाल बसाइको सबैभन्दा सुन्दर सम्झनाबारे बोल्दै उनले नेपाली जनताको माया र सम्मान अविस्मरणीय रहेको बताए। “तपाईंहरू साँच्चै अद्भुत र असल मानिसहरू हुनुहुन्छ, कृपया कहिल्यै नबदलिनुहोला,” राजाले भने।
कात्तिक २९, २०८३ आइतबार १७:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।