‘स्विप नखेल्नू भनेर सम्झाएँ, सुस्लिङले टेरेन’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार चितवन राइनोजसँग ४ विकेटले पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले टोलीका स्थानीय तथा युवा खेलाडीहरूको प्रदर्शन र खेल अनुशासनप्रति कडा असन्तुष्टि पोखेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ८८ रनमै समेटिँदै हार व्यहोरेपछि आयोजित पत्रकार सम्मेलनमा चन्द्रपालले अन्य टोलीको तुलनामा जनकपुरका स्थानीय खेलाडीले अपेक्षाकृत जिम्मेवारी निभाउन नसकेको दोहोर्याए। उनले प्रतियोगिता यस्तो भनाइ राखेको यो दोस्रो पटक हो।
“यस्ता लिगमा स्थानीय खेलाडीले नै मुख्य प्रदर्शन गर्नुपर्छ, तर अहिलेसम्म हाम्रा स्थानीय खेलाडीहरूले त्यो गर्न सकेका छैनन्,” उनले भने, “अन्य सबै टिम हेर्ने हो भने स्थानीय खेलाडीले नै टिमलाई तानिरहेका छन् र खेल जिताइरहेका छन्। हामीले भने एक-दुई खेलबाहेक त्यस्तो प्रदर्शन पाउन सकेनौं।”
युवा खेलाडीहरूले परिस्थितिअनुसार चतुरता अपनाउन नसकेको र प्रशिक्षकको निर्देशनसमेत पालना नगरेको भन्दै उनले इनिङ्सको ड्रिङ्क्स ब्रेकको घटना सुनाए।
“म ड्रिङ्क्स ब्रेकमा मैदान भित्र जाँदा सुस्लिङको कान नजिक बलले लागेको थियो,” चन्द्रपालले भने, “मैले उनलाई ‘अब स्विप सट नखेल्नू, सिङ्गल लिँदै स्ट्राइक रोटेट गरेर साझेदारी बनाऊ’ भनेर सम्झाएँ। तर, अर्को बलमै उनले स्विप सट खेले र आउट भए।”
खेलाडीले सुन्न र सिक्न नचाहे सधैँ सङ्घर्ष गरिरहनुपर्ने उनको कडा टिप्पणी थियो। पहिलो सिजनको विजेता जनकपुरले यस पटक टोलीमा धेरै खेलाडी परिवर्तन गर्दा अनुभवको कमी खड्किएको चन्द्रपालको विश्लेषण छ।
“गत वर्षका धेरै खेलाडी यस पटक फेरिए, नयाँ युवा खेलाडीहरूसँग यो स्तरमा खेलेको अनुभव थिएन,” उनले भने, “दबाबको अवस्थामा के गर्ने भन्ने जान्ने अनुभवी खेलाडी नहुँदा त्यसको असर खेलमा देखियो।”

टस जितेर पहिले ब्याटिङ रोज्ने निर्णयबारे उनले चिसो मौसमका कारण धेरै शीत (ड्यु) नपर्ने कप्तान हरमीत सिंहको अनुमान विपरीत राति अत्यधिक शीत पर्दा बलिङमा कठिन भएको उल्लेख गरे।
ब्याटिङमा स्ट्राइक रोटेट गर्न चुकेको, अन्त्यतिर राहुल यादवजस्ता ब्याटरलाई विश्वास गरेर सिङ्गल नलिएको र फिल्डिङमा महत्त्वपूर्ण क्याच छाड्नु नै हारको कारण बनेको उनको भनाइ छ। “क्याचले नै खेल जिताउँछ, त्यो क्याच समातेको भए खेल पूरै बदलिन सक्थ्यो,” उनले थपे।
जनकपुरसँगको दुई वर्षे सम्झौता यही सिजनमा सकिँदै गर्दा आफ्नो आगामी भविष्यबारे भने चन्द्रपालले अहिले नै केही भन्न नसकिने प्रतिक्रिया दिए। यद्यपि, नेपाली क्रिकेटमा राम्रा युवा प्रतिभा रहेको र विदेशी खेलाडीको अनुभवले उनीहरूको विकासमा ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
आज मैदानमा जनकपुरका समर्थक (बोल्ट्स आर्मी) को उपस्थिति पातलो हुनुमा चाडपर्वको समय कारण रहेको उल्लेख गर्दै उनले समर्थकहरू बाहिरबाटै टिमको साथमा रहेको बताए।
कात्तिक २७, २०८३ शुक्रबार २१:५४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।