‘३८ को औसतमा ड्रप गरिनु अनौठो थियो, आज प्रमाणित गरिदिएँ’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जनकपुर बोल्ट्सविरुद्ध ४ विकेटको महत्त्वपूर्ण जित दिलाएपछि चितवन राइनोजका इङ्ग्लिस ब्याटर डेविड मलानले आफूमाथि गरिएको निर्णयप्रति कटाक्ष गर्दै खेल जिताएर आलोचकलाई जवाफ दिएको बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ८९ रनको सामान्य लक्ष्य पछ्याउँदा चितवनले पावरप्लेमै ५ विकेट गुमाएर दबाबमा परेको अवस्थाबाट ३९ बलमा अविजित ३५ रनको संयमित इनिङ्स खेल्दै मलानले टोलीलाई जित दिलाएका थिए।
प्लेयर अफ द म्याच घोषित भएपछि पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्ला खेलमा टोलीबाट बाहिर राखिएको प्रसङ्ग कोट्याए।
“३८ को औसत हुँदाहुँदै ड्रप पारिने प्रतियोगिता मैले धेरै खेलेको थिइनँ, अनि फर्किएर चौथो नम्बरमा ब्याटिङ गर्नुपर्यो,” मलानले भने, “यो मेरा लागि अलि अनौठो अनुभव थियो। तर, मेरो काम क्रिकेट खेल जिताउनु र मानिसहरूलाई गलत साबित गर्नु हो। आशा छ, आज मैले त्यो प्रमाणित गरेँ।”
उनले जनकपुरविरुद्ध टस हार्नु नै चितवनका लागि फापेको ठट्टा गरे।

टस जितेको भए चितवनले पनि पहिले ब्याटिङ नै रोज्ने सम्भावना रहेको खुलाउँदै उनले भने, “त्यस हिसाबले टस हार्नु नै हाम्रा लागि राम्रो भयो। पहिलो इनिङ्समा बल निकै घुमिरहेको थियो, तर दोस्रो इनिङ्समा शीतका कारण बल थोरै भिज्दा पिचमा सहजै आयो र ब्याटिङ तुलनात्मक रूपमा सजिलो भयो।”
कठिन पिचमा जनकपुरलाई ८८ रनमै रोक्ने बलरहरूको प्रशंसा गर्दै उनले सानो लक्ष्यमा साझेदारी टिकाउन सकेका कारण खेलमा फर्कन सफल भएको उल्लेख गरे।
मलानले कीर्तिपुरको पिचको प्रकृतिबारे पनि खुलेर धारणा राखे। टी-२० क्रिकेट मनोरञ्जन र रन बनाउने खेल भए पनि हालका पिचहरू बलरको पक्षमा अलि बढी नै झुकेको उनको टिप्पणी छ।
“ब्याटरलाई चुनौती दिने यस्ता पिच कहिलेकाहीँ ठीकै भए पनि अहिले बलरलाई अलि धेरै नै फाइदा पुगेको देखिन्छ,” उनले भने, “मेरो विचारमा १४० देखि १६० रन बन्ने पिच भयो भने खेल निकै प्रतिस्पर्धात्मक र रोचक हुन्छ। समयसँगै पिचमा सुधार आउने आशा छ।”
गत सिजन प्लेअफमा पुग्न नसकेको चितवन यस पटक निकै सन्तुलित देखिएको मलानको मूल्याङ्कन छ। बेन्चमा समेत गुणस्तरीय खेलाडी रहेकाले आवश्यकताअनुसार फरक-फरक कम्बिनेसनमा खेल्न सहज भएको उनले बताए।
गत वर्ष यहाँको पिचले आफूलाई चकित पारे पनि यस पटक स्पष्ट योजना र बुझाइका साथ आएको उल्लेख गर्दै उनले थपे, “यस्ता प्रतियोगितामा स्थानीय खेलाडीको प्रदर्शन नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ, र हाम्रो टिममा स्थानीय खेलाडीहरूको निकै राम्रो समूह छ।”
जनकपुरविरुद्धको जितसँगै ६ खेलबाट ७ अङ्क जोडेको चितवन अङ्कतालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफ नजिक पुगेको छ।
कात्तिक २७, २०८३ शुक्रबार २१:४६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।