नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य व्यक्ति पक्राउ

नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य व्यक्ति पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलोग्राम लागुऔषध सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका एक मुख्य व्यक्ति पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्यूरोले शनिबार थाइल्यान्डबाट काठमाडौं आएका भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवराज टिघरेलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शङ्कास्पद यात्रुहरूको 'प्रोफाइलिङ' गर्ने क्रममा प्रहरीले टिघरेलाई नियन्त्रणमा लिएको थियो। शङ्का लागेर जाँच गर्दा उनको झोलामा रहेको खरायो र बिरालोको खानाको प्याकेटमा सेतो हेरोइन भेटिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको उक्त सेतो हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले २२ करोड रुपैयाँ रहेको ब्यूरोको आंकलन छ। उक्त लागुऔषध भारत पुर्याउँदा भारतीय बजारमा अझै महँगो मूल्य पर्ने देखिएको प्रहरीले जनाएको छ।

टिघरेको साथबाट १ थान पासपोर्ट, १ थान मोबाइल फोन र 'मेकानिकल इन्जिनियर'को प्रमाणपत्रसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए। टिघरे लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको खुलेको उनले बताए। उनी यसअघि पनि दुई पटक लाओसबाट नेपाल हुँदै भारतसम्म लागुऔषध तस्करीमा संलग्नता देखिएको प्रहरीले जनाएको छ। 

ब्यूरोका अनुसार उनले सन् २०२५ नोभेम्बर ४ मा नेपालबाट हवाई मार्ग हुँदै र सन् २०२६ फेब्रुअरी २६ मा स्थल मार्ग हुँदै भारतमा लागुऔषध पुर्याएका थिए। उनले लाओससहित जिम्बाब्बे, सुडान, बङ्गलादेश, भियतनाम र कम्बोडियासमेतको भ्रमण गरिसकेको खुल्न आएको रेग्मीले जानकारी दिए। टिघरेमाथि थप अनुसन्धान भइरहेको उनले बताए।  

कात्तिक २९, २०८३ आइतबार १४:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।