नुवाकोटमा हराएका ५ वर्षीय बालक तादीखोलामा मृत फेला

नुवाकोटमा हराएका ५ वर्षीय बालक तादीखोलामा मृत फेला

नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिका-२, बेशीकट्टेरीस्थित तादीखोलामा एक बालक मृत अवस्थामा फेला परेका छन्।

स्थानीय रामराजा राईका करिब ५ वर्षीय छोरा सज्जल राई कात्तिक २८ गते अपराह्न करिब ४ बजे खोलामा मृत फेला परेका हुन्।

कात्तिक २७ गते अपराह्न करिब ४ बजेदेखि हराइरहेका बालकको शव घरबाट करिब ७०० मिटरको दूरीमा रहेको तादीखोलामा भेटिएको हो। मृतक बालक सुस्तमनस्थितिका रहेको बुझिएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी सहायक निरीक्षक सुमन ढकालको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक बिबेक आले मगरको कमान्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले सोही दिन साँझ ६:३० बजे लाश जाँच मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल, नुवाकोट पठाएको जनाएको छ।

कात्तिक २९, २०८३ आइतबार ११:१८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।