साढे ३ किलो थाई गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलोग्राम लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको उत्तर प्रदेश ठेगाना भएका २२ वर्षीय सलमानलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो।
ब्युरोले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शङ्कास्पद यात्रुहरूको निगरानी गर्ने क्रममा विमानस्थलको गौचरणस्थित ब्युरोको शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो।
भारतको दिल्लीबाट नेपाल आएका सलमानमाथि शङ्का लागी जाँच गर्ने क्रममा उनले साथमा ल्याएको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको अवस्थामा ३.५ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीले जानकारी दिए।
प्रहरीले उनको साथबाट एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका सलमानमाथि ब्युरोबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
कात्तिक २९, २०८३ आइतबार ११:२८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।