आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी : आस्थाको ठूलो पर्व छठअन्तर्गत आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ। शनिबार राति ‘खरना’ विधि पूरा गरेसँगै व्रतालुहरू निराहार व्रत बसिरहेका छन्।

मिथिला क्षेत्रमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको हो।

शनिबार दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिर आफ्ना इष्टदेवलाई चढाई प्रसादको रूपमा खाने विधिलाई ‘खरना’ भनिन्छ। खरना सकिएपछि व्रतालुको कडा व्रत सुरु हुने चलन छ।

भगवान् सूर्य र उहाँकी पत्नी छठी देवीको पूजा गरिने यस पर्वमा आज साँझ सफा नदी, पोखरी वा तलाउ किनारमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ। मिथिलामा यस विधिलाई ‘सझिया अरख’ वा ‘सझिया घाट’ भनिन्छ।

अर्घ्य दिनका लागि घरघरमा ठकुवा, भुसुवालगायत मीठा परिकार तयार पारिएका छन्। व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्य भगवान्लाई चढाउनेछन्।

साँझको अर्घ्य दिएपछि व्रतालुहरू रातभरि पानीको किनारमै बसेर छठी देवी र सूर्यको महिमा समेटिएका गीत गाउने गर्छन्।

भोलि सोमबार बिहान घाम झुल्किनुअघि नै व्रतालुहरू कम्मरसम्म डुब्ने गरी पानीमा उभिएर सूर्य उदाउने प्रतीक्षा गर्छन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनको यो पर्व सकिन्छ। बिहानको यस विधिलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

सूर्य र छठी देवीको पूजा गर्नाले मनले चिताएको पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने तथा रोगव्याधिबाट छुटकारा पाइने जनविश्वास रहेको छ।

कात्तिक २९, २०८३ आइतबार ०७:३२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।