मेडिकल फेल हुँदा साउदी जान पाएनन्, अहिले बाख्रा पालेरै आत्मनिर्भर
नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण रोकिएका बाँकेको राप्तीसोनारी गाउँपालिका-६ का डम्बर बुढाक्षेत्री अहिले स्वदेशमै बाख्रापालनबाट आत्मनिर्भर बनेका छन्।
विदेशको बाटो बन्द भएपछि स्वदेशमै सुरु गरेको यही व्यवसायले उनको जीवन नै फेरिदिएको छ।
बुढाक्षेत्रीको खोरमा अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा छन्।
बाख्रापालनबाटै हालसम्म तीन लाख रुपैयाँ आम्दानी गरिसकेका उनले यही कमाइबाट पुरानो ऋण तिरेका छन् भने दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकतासमेत पूरा गर्दै आएका छन्।
वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्ने गरेका उनले यस वर्ष पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन्।
माउ बाख्रा नबेची सङ्ख्या बढाउने योजनामा रहेका उनलाई बजारको कुनै समस्या छैन।
स्थानीय सहकारीले नै खसी खरिद गरिदिने र आवश्यक पर्दा अग्रिम रकमसमेत उपलब्ध गराउने भएकाले कारोबार निकै सहज भएको बुढाक्षेत्री बताउँछन्।
उनको सफलताको यो यात्रा त्यति सहज भने थिएन। वैदेशिक रोजगारीमा जाने योजना असफल भएपछि बाख्रापालन थालेका बुढाक्षेत्रीले बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न बीचमै व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताउनुपरेको थियो।
भारतबाट फर्किएपछि पुनः पशुपालनमा सक्रिय भएका उनले पहिले आठवटा भैँसीसमेत पालेका थिए। पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिएका उनले पशुपालनबाटै सबै ऋण चुक्ता गर्न सफल भएको बताए।
स्वदेशमै मिलेको सफलताबाट उनी निकै खुसी छन्। “म यसैमा सन्तुष्ट छु। विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,” बुढाक्षेत्री भन्छन्।
अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्नुभन्दा आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने उनको सुझाव छ। बाख्रापालनलाई नै भविष्यको मुख्य आधार बनाएका उनी अब स्थानीय जातका बाख्राको सङ्ख्या अझै बढाउने योजनामा छन्।
कात्तिक २९, २०८३ आइतबार १३:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।