मार्कीबाट अक्सन झरेका आसिफ : पारिश्रमिक २ लाख कम, रन १ बढी
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमा अघिल्ला दुई सिजन एउटै टोलीको ‘मार्की प्लेयर’ बनेर तेस्रो सिजनअघि रिलिज हुने पहिलो खेलाडी हुन्- राष्ट्रिय टोलीका ओपनर आसिफ शेख।
पहिलो सिजनमा २० लाख रुपैयाँको मार्की अनुबन्धमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका आसिफलाई दोस्रो सिजनमा जनकपुरले १० प्रतिशत वृद्धि अर्थात् २२ लाख रुपैयाँ पारिश्रमिकसहित रिटेन गरेको थियो।
तर, दोस्रो सिजनमा जनकपुर तालिकाको पुछारमा समेटिएपछि तेस्रो सिजनको मिनी अक्सनअघि जनकपुरले आसिफलाई रिलिज गर्ने साहसिक निर्णय लियो।
रिलिज भएपछि अक्सनमा आएका आसिफलाई किन्न क्यानले विशेष ‘प्राइस ब्राकेट’ तोकेको थियो। जसमा बेस प्राइस १५ लाख र अधिकतम सीमा २० लाख रुपैयाँ रहेको थियो।
असारमा सम्पन्न मिनी अक्सनमा चितवन राइनोजबाहेक ७ वटै टोलीले आसिफमाथि अधिकतम २० लाख रुपैयाँको बोली लगाएपछि लक्की ड्रमार्फत साविक विजेता लुम्बिनी लायन्स भाग्यमानी ठहरियो।
यसरी मार्कीबाट अक्सनमा झर्दा दोस्रो सिजनको २२ लाखको तुलनामा २ लाख रुपैयाँ मूल्य घटे पनि उनी सिजन-३ अक्सनकै सर्वाधिक महँगा खेलाडी बने।
जनकपुर बाहिरियो, लुम्बिनी शीर्ष स्थानमा
आसिफलाई छाडेको जनकपुर बोल्ट्स तेस्रो सिजनमा मात्र ४ अङ्कमा समेटिएर प्लेअफ दौडबाट बाहिरिसकेको छ। अर्कोतर्फ, आसिफ आबद्ध लुम्बिनी लायन्स ७ खेलबाट ११ अङ्क जोड्दै लिग चरणको शीर्ष स्थानमा रहेर सिधै क्वालिफायर-१ मा पुगेको छ।
यद्यपि, टिम शीर्ष स्थानमा पुग्दा २० लाखमा किनिएका अनुभवी ओपनर आसिफ शेखको व्यक्तिगत ब्याटिङ प्रदर्शन भने अपेक्षाअनुसार ‘निरन्तर विस्फोटक’ देखिन सकेन।
लुम्बिनी लायन्सले खेलेका ७ लिग खेलमध्ये चितवन राइनोजविरुद्धको दोस्रो खेल वर्षाका कारण टससमेत नभई रद्द भएको थियो। बाँकी ६ इनिङ्समा आसिफले कुल १०७ रन बनाएका छन्।
सुदूरपश्चिम रोयल्सविरुद्ध ३२ रन बनाएका उनले पोखरा एभेन्जर्सविरुद्ध ७, जनकपुर बोल्ट्सविरुद्ध २१, काठमाडौं गोर्खाज र कर्णाली याक्सविरुद्ध समान एक-एक अनि विराटनगर किङ्सविरुद्धको खेलमा ४५ रन बनाए।
विराटनगरविरुद्ध सिजनकै सर्वाधिक स्कोर बनाउँदै डार्सी सर्टसँग ८६ रनको महत्त्वपूर्ण साझेदारी गरे पनि रनआउट हुँदा अर्धशतकबाट मात्र ५ रनले चुके।
लिग चरणमा डक आउट नभएका उनले अर्धशतक पनि बनाउन सकेका छैनन्।
अघिल्ला दुई सिजनको तुलनामा कस्तो रह्यो यात्रा ?
अघिल्ला दुई सिजनमा पनि आसिफको एनपीएल प्रदर्शन ‘मध्यम तर महत्त्वपूर्ण’ खालको थियो।
सिजन-१ मा जनकपुरमा रहेका उनी कप्तान अनिल शाहको अनुपस्थितिमा प्लेअफदेखि फाइनलसम्म कप्तानीसमेत सम्हालेका आसिफले १० खेलमा कुल १६२ रन बनाएका थिए।फाइनलमा सुदूरपश्चिमविरुद्ध १९ बलमा ३३ रनको आक्रामक सुरुवात दिलाउँदै उनले जनकपुरलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका थिए।
सिजन-२ मा काठमाडौं गोर्खाजविरुद्धको उद्घाटन खेलमै ४१ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका उनले पूरै सिजनमा १०६ रन जोडेका थिए, यद्यपि जनकपुर लिग चरणबाटै बाहिरिएको थियो।
दुवै अघिल्ला सिजनको तुलनामा यसपटक लिग चरणमै १०७ रन बनाइसकेका आसिफसँग अझै प्लेअफका खेलहरू बाँकी छन्। सुरुवाती खेलमा सुदूरपश्चिम र अन्तिम लिग खेलमा विराटनगरविरुद्ध महत्त्वपूर्ण साझेदारी गरेका आसिफबाट अब क्वालिफायर-१ बाँकी नै छ।
कात्तिक २९, २०८३ आइतबार ०८:२२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।