पाकिस्तानलाई हराउँदै भारतले जित्यो यू-१९ एसिया कपको उपाधि, १०औं नम्बरका उल्वाले ४९ रन बनाउँदा पल्टियो खेल
एजेन्सी : ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार सम्पन्न एसीसी अन्डर-१९ एसिया कपको फाइनलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानमाथि अन्तिम बलमा १ विकेटको अविश्वसनीय जित हासिल गर्दै उपाधि उचालेको छ।
पाकिस्तानले प्रस्तुत गरेको ३३८ रनको विशाल लक्ष्य भारतले इनिङ्सको ठीक अन्तिम बलमा ९ विकेट गुमाउँदै पूरा गरेको हो।
अन्तिम ओभरमा जितका लागि ८ रन र अन्तिम एक बलमा ३ रन आवश्यक रहेको अत्यन्तै तनावपूर्ण क्षणमा १०औं नम्बरका ब्याटर मोहित उल्वाले बलर अहमद हुसेनलाई चौका प्रहार गरेपछि भारतले ३३९/९ बनाउँदै ऐतिहासिक विजय दर्ता गर्यो।
योसँगै भारतले समूह चरणमा पाकिस्तानसँग बेहोरेको ३ विकेटको हारको बदलासमेत फाइनलमा चुक्ता गरेको छ। यस प्रतियोगितामा नेपाल सहभागी भए पनि समूह चरणबाटै बाहिरिएको थियो। नेपाल भारत, पाकिस्तान र युएईसँग खेलेका तीनै खेलमा पराजित भएको थियो।
मोहित र चिगुरुपतीको अविश्वसनीय पुनरागमन
विशाल लक्ष्य पछ्याउने क्रममा भारतका कप्तान लक्ष्य रायचन्दानी (१०१ बलमा ८० रन) र आर्यवीर सहवाग (६१ बलमा ५८ रन, ९ चौका) ले पहिलो विकेटका लागि ९५ रनको ठोस साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

तर मध्यक्रम लड्खडाउँदा भारत ३६.३ ओभरमा २१७/६ र ४१.३ ओभरमा २५२/८ को नाजुक स्थितिमा पुग्यो, जहाँबाट जितका लागि अझै ८६ रन आवश्यक थियो।
त्यसपछि नवौं विकेटका लागि मनल चौहान (३२ बलमा ४७ रन, ३ चौका र ३ छक्का) र मोहित उल्वाबीच ५७ रनको आक्रामक साझेदारी भयो। ४७.२ ओभरमा मनल आउट हुँदा भारत ३०९/९ मा थियो र जितका लागि १६ बलमा २९ रन चाहिन्थ्यो।
अन्तिम विकेटका रूपमा क्रिजमा डटेका मोहित उल्वा (२६ बलमा ५ चौका र ३ छक्कासहित अविजित ४९ रन) र चिगुरुपती वेङ्कट (८ बलमा अविजित ११ रन) ले दबाब झेल्दै भारतलाई अविश्वसनीय जित दिलाए।
४५औं ओभरपछि पाकिस्तानमाथि ‘स्लो ओभर-रेट’का कारण ३० यार्डभित्र एक अतिरिक्त फिल्डर राख्नुपर्ने सजाय लाग्नु पनि भारतका लागि वरदान साबित भयो।
भारतका लागि भीके विनितले २४, अन्वय द्रविडले १९ र अर्जुन राजपुतले १६ रनको योगदान दिए। बलिङतर्फ पाकिस्तानका रिजवान उल्लाहले ३ तथा निकाब सफिकले २ विकेट लिए भने अली रजा, मोहम्मद सय्यम र हसनैन अब्बास डारले १-१ विकेट हात पारे। फिल्डिङमा उस्मान खानले ४ क्याच लिए।
उस्मानको शतक र कादिरको विस्फोट खेर गयो
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३७ रनको विशाल योगफल खडा गरेको थियो।
पाकिस्तानका ओपनर उस्मान खानले १११ बलमा ११ चौका र ३ छक्कासहित शानदार १०७ रन को शतकीय इनिङ्स खेले। उनलाई अब्दुल कादिरले मात्र ५४ बलमा ३ चौका र ८ छक्कासहित ८० रन को विस्फोटक साथ दिँदै दोस्रो विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए। यस्तै कप्तान फरहान युसुफले ६० बलमा ६३ रन (४ चौका, ३ छक्का) तथा अहमद हुसेनले १७ रन जोडे।
बलिङतर्फ भारतका काव्य परेश पटेल ले १० ओभरमा ६८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने चिगुरुपती वेङ्कटले ५ ओभरमा ४० रन दिँदै ३ र अर्जुन राजपुतले १ विकेट हात पारे।
कात्तिक २८, २०८३ शनिबार १९:१९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।