हारपछि असलङ्का- ‘म्याथ्युजको अभाव खड्कियो, सिजनभरि हाम्रो फिल्डिङ कमजोर रह्यो’

हारपछि असलङ्का- ‘म्याथ्युजको अभाव खड्कियो, सिजनभरि हाम्रो फिल्डिङ कमजोर रह्यो’

काठमाडौं : लुम्बिनी लायन्ससँग ४ विकेटको रोमाञ्चक हार बेहोर्दै एनपिएलबाट बाहिरिएपछि विराटनगर किङ्सका स्टार ब्याटर चरिथ असलङ्काले फितलो फिल्डिङ र दबाबमा खेल ‘फिनिस’ गर्न नसक्नु नै टोलीको कमजोरी रहेको स्वीकार गरेका छन्।

शनिबार राति ६४ रनको अर्धशतकीय इनिङ्स र १ विकेट लिएर पनि टोलीलाई जिताउन नसकेका असलङ्काले पत्रकार सम्मेलनमा बोल्दै म्याचअनुसार टोलीका तीन मुख्य कमजोरी र कारण औँल्याए।

आजको निर्णायक खेलमा अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजलाई प्लेइङ-११ मा नराखिनु टोलीका लागि ठूलो घाटा भएको असलङ्काले इमानदार स्वीकारोक्ति दिए।

“इमानदारीपूर्वक भन्दा म्याथ्युज नहुनु हाम्रो लागि ठूलो क्षति थियो,” उनले भने, “उहाँले प्रतियोगितामा ८-९ विकेट लिइसक्नुभएको थियो र पावरप्लेमा शानदार बलिङ गर्नुहुन्थ्यो। तर पनि हामी १६६ रनको योगफल जोगाउन सक्थ्यौँ।”

अन्तिम २ ओभरमा ३३ रन जोगाउन नसक्नुको कारण खुलाउँदै उनले कीर्तिपुरमा साँझ चाँडै शीत पर्ने भएकाले दोस्रो इनिङ्समा भिजेको बलले बलिङ गर्न कठिन हुने बताए।

“उनीहरूका ब्याटरले राम्रो एक्जिक्युसन गरे र भिजेको बलको फाइदा पनि पाए, तर हामीले अझ राम्रो बलिङ गर्न सक्थ्यौं”, उनले भने।

सन्दीप जोराको छुटेको रनआउट र समग्र प्रदर्शनबारे असलङ्काले हारपछि ‘यदि र तर’ भन्नुभन्दा कमजोरी सुधार्नुपर्ने बताए।

“पूरा शृङ्खलाभर नै हाम्रो फिल्डिङ स्तरअनुसारको रहेन,” उनले भने, “टी-२० दबाबको खेल हो। म आफैँसहित विराटनगर किङ्सले खेल फिनिस गर्न सिक्नुपर्छ। लिगका सुरुवाती दुई खेलमा पनि हामी जितको नजिक पुगेर चिप्लिएका थियौँ।”

नेपाली युवा खेलाडी र एनपिएलको प्रशंसा
टोली प्लेअफमा पुग्न नसके पनि दोस्रो पटक नेपाल आएका असलङ्काले एनपिएलको अनुभव अत्यन्तै सुखद रहेको बताए।

नेपाल सुन्दर देश भएको र एनपिएल निकै प्रतिस्पर्धात्मक रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो टोलीका स्थानीय नेपाली युवा खेलाडीहरू साँच्चै प्रतिभावान् छन्, उनीहरूमा राम्रो सम्भावना देखेको छु। फिल्डिङ र दबाबका खेल कसरी जिताउने भन्नेमा अलि काम गर्नुपर्छ। यस्तो प्रतिस्पर्धात्मक लिगले नेपाली क्रिकेटलाई अघि बढाउन ठूलो मद्दत गर्नेछ।”

कात्तिक २८, २०८३ शनिबार २२:२३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।